सत्ता छाड्न प्रधानमन्त्री तयार, राष्ट्रियसभाको अध्यादेश स्वीकृति गरिदिन आग्रह

226
SwadeshPost

शेरबहादुर देउवा नेतृत्वको सरकार माघसम्मै लम्बिने आशंकाबिच सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री तयार भएका छन् ।

सरकार परिवर्तनको आधार तयार गर्नका निम्ति राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृति गरिदिन प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरे । राष्ट्रपतिलाई भेट्न बिहिबार शीतलनिवास पुगेका उनले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् । राष्ट्रियसभा गठन नभएसम्म निर्वाचनले पूर्णता नपाउने संवैधानिक व्यवस्था रहेको उनको भनाई रहेको जनाइएको छ । ‘राष्ट्रियसभा गठन नभएसम्म निर्वाचन प्रक्रियाले पूर्णता पाउँदैन’, प्रधानमन्त्रीलाई उदृत गर्दै उनका प्रेस संयोजक गोविन्द परियारले भने, ‘राष्ट्रियसभा गठन नभईकन सत्ता हस्तान्रण कठिन भयो, अध्यादेश स्वीकृत गरेर बाटो खोलिदिनुस् । छिटो सत्ता हस्तान्तरणका लागि म आतुर छु ।’

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा दलीय सहमति नजुट्दा स्वीकृत गर्न कठिन भएको जानकारी प्रधानमन्त्रीलाई गराउँदै छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिएकी छिन् । राष्ट्रपतिका एक सहयोगीले भने, ‘आन्तरिक छलफल जारी छ छिट्टै टुंगोमा पुग्छौं ।’

SwadeshPost