माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा एमाले पहिलो पार्टी

509
SwadeshPost

चितवनमा दोश्रो चरणको निर्वाचन अन्तरगत २१ ग्ते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

अन्तिम आँकडाअनुसार समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा सर्बाधिक मत प्राप्त गरी नेकपा (एमाले) जिल्लाको ठूलो वा पहिलो दल बनेको छ । एमालेले प्रतिनिधि सभातर्फ ९१ हजार ५ सय ४ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ८७ हजार ४ सय १३ मत प्राप्त गरेको छ । यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले समानुपातिकको प्रतिनिधि सभा तर्फ ७९ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ७५ हजार ३ सय ६० मत प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा तर्फ ३९ हजार ८ सय १३ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ४० हजार ६ सय ८७ मत प्राप्त गरेको छ ।

पछिल्लो दिनमा सामाजिक सञ्जाल, मुलधार तथा अनलाइन मिडिया र युवा पिढींमाझ चर्चाको केन्द्रमा रहेको विवेकशील साझा पार्टीले प्रतिनिधि सभा तर्फ ९ हजार ५ सय २० र प्रदेश सभा तर्फ ९ हजार २ सय ५२ मत प्राप्त गरेको छ ।

अघिल्लोपटक प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा (प्रजातान्त्रिक) भने नयाँ दलका रुपमा रहेको विवेकशील साझाभन्दा पनि पछाडी पर्दै चितवनमा पाचौँ भएको छ । उसले प्रतिनिधि सभा तर्फ ६ हजार ३ सय ६१ र प्रदेश सभा तर्फ ६ हजार ९ सय मत प्राप्त गरेको छ । चितवनमा कुल ३ लाख ५४ हजार ३६ मतदाता रहेका थिए ।

चितवनमा वामपन्थी गठबन्धनले क्लिन स्वीप गर्दैै तीनवटै प्रतिनिधि–सभा तथा छ वटै प्रदेशसभा सदस्यमा जित निकालेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्य चुनिएका छन् भने एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं. १ बाट निर्वाचित भएका छन् ।

SwadeshPost