एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने : बामदेव गौतम

316
SwadeshPost

एमाले र माओवादी केन्द्रबिच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी रहेको सार्वजनिक भएको छ ।

एमाले उपाध्यक्ष तथा वाम गठबन्धनका एक सुत्रधार बामदेव गौतमले वाम गठबन्धन बन्दै गर्दा सरकारको नेतृत्व आलोपालो गरी गर्ने सहमति भएको खुलासा गरे । पार्टी एकता र तालमेल गर्ने सम्बन्धमा एमाले र माओवादी निश्कर्षमा पुग्दा प्रधानमन्त्री आलोपालो गरी बन्ने सहमति भएको तर कसले कति अवधी सरकारको अगुवाई गर्ने भन्ने अवधी भने नतोकिएको उनले बताएका छन् । यद्यपि दुबै पाटीले संयुक्त रुपमा जारी गरेको चुनावी घोषणापत्र लगायत कुनैपनि लिखतमा यो कुरा उल्लेखित भने छैन । चुनावी प्रचारप्रसार तथा अन्य सन्दर्भमा कुनै नेताहरुले पनि यो कुरा बाहिर ल्याएका थिएनन् ।

राजनैतिक स्थिरताको नारा दिएर चुनावमा उत्रिएका माओवादी केन्द्र र एमालेले देशभर चुनाव जित्दै बहुमत हासिल गरेका छन् । तर माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष के.पी. वलीबिच भएको आलोपालोको सहमतीले पुनः राजनैतिक अस्थिरताको सम्भावना बढेको राजनैतिक वृत्तमा चर्चा चुलिएको छ ।

यस पटक प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा आउने सिटसहित जोड्दा एमालेलाई सरकार बनाउन माओवादी केन्द्रको सहयोग अनिवार्य देखिन्न । एमालेलाई दुई मधेसवादी दलमध्ये एकको सहयोगबाट नै सरकार बनाउन वा टिकाउन आवश्यक बहुमत पुग्न सक्छ । उता माओवादी केन्द्र, मधेसवादी दुई दल र कांग्रेससहितको गठबन्धन भयो भने पनि सरकार बनाउन पुग्ने बहुमत जुट्न सक्छ । यस्तो परिस्थितिमा कुनै ठूलै राजनैतिक परिघटना भई जनअपेक्षा भन्दा उल्टो परिस्थिति सिर्जना नहोला भन्न सकिन्न ।

SwadeshPost