

माडी, चितवन — बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन हुनुभएको छ । मंगलबार सम्पन्न होमस्टेको प्रथम अधिवेशनबाट चौधरीको अध्यक्षतामा ७ सदस्यीय कार्यमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा ओमप्रकाश महतो, सचिवमा निर्मल कुमार चौधरी, कोषाध्यक्षमा सुजिता कुमारी महतो र सदस्यहरुमा नारायण महतो, जानकी महतो र अमृता चौधरी रहनुभएको छ ।

माडीको थारु बाहुल्य बघौंडा गाउँमा स्थापित सो सामुदायिक होमस्टेले थारु सँस्कृति, भेषभूषा र खानपानको झल्को दिनेगरी सेवा सञ्चालन गरिआएको छ । हाल ७ वटा होमस्टे घरहरुबाट ५० जना पाहुनाहरुलाई आतिथ्य प्रदान गर्न सकिने होमस्टेका उपाध्यक्ष महतोले जनाउनुभयो ।

‘जैविक विविधताको संरक्षण र पर्यापर्यटन प्रवर्द्धन गरौं’ भन्ने नारा रहेको सो होमस्टेमा घोङ्गी, चिचर, हाँसको मासु, लोकल कुखुरा, माछा तथा अन्य थारु परिकारहरु उपलब्ध रहने होमस्टेकी अध्यक्ष चौधरीले बताउनुभयो ।