

माडी, चितवन — आउँदो मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)को सन्दर्भ माडी–६, लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाममा मातृ तर्पण विशेष धार्मिक कार्यक्रम आयोजना भएको छ ।

मातातीर्थ औंसीको अवसरमा बैशाख १२ देखि १४ गतेसम्म सो धार्मिक क्षेत्रमा मातृ तर्पण एवं आमाहरुलाई सम्मान स्याहारको कार्यक्रम आयोजना भएको हो । गत बर्ष समेत मातातीर्थ औंसीका दिन आमा नभएका (आमाको निधन भइ गुमाएका) छोरीहरुले सो धाममा पूजाअर्चना सहित विधिपूर्वक मातृ तर्पण गरेका थिए ।

काठमाडौं उपत्यका बाहिरकै पहिलो र एकमात्र मातातीर्थ धामका रुपमा माडी–६, लक्ष्मीनिवास देउराली डाँडास्थित त्रिपुरेश्वर शिवालय मन्दिर परिसरमा मातातीर्थ धाम स्थापित छ । १० जलधारा सहितको मातातीर्थको मुर्ती प्रतिस्थापित सो धाम माडी क्षेत्रको एक धार्मिक पर्यटनस्थलका रुपमा चर्चा पाउँदै क्रमशः चिनिंदै गएको छ ।
