देश-प्रदेश खबर पोष्ट

आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

माडी, चितवन — काठमाडौंमा लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको विषयलाई लिएर सर्वोच्च अदालतले सरकारलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरूलाई सम्बोधन गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

“आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,” आदेशमा भनिएको छ।

त्यस्तै, कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न पनि आदेशमा उल्लेख छ । ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने’ आदेशमा भनिएको हो ।

शिक्षकहरू गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंमा केन्द्रीकृत आन्दोलनमा छन्। सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन नसकेपछि आन्दोलन अझ चर्किएको छ। माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने शिक्षकहरूले अडान राखेका छन्।

तपाईको प्रतिक्रिया

ताजा समाचार