

माडी, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन हुनुभएको छ । माडी नगरपालिका वडा नं ६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको सभाहलमा आज (शनिबार) सम्पन्न नगर अधिवेशनले रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचन प्रक्रियामार्फत भएको सभापति चयनमा रिजालले २७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी विकास ओझाले २२ मत प्राप्त गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सोना खनाल, सचिवमा जगतराज अधिकारी र सहसचिवमा मोहनराज पोख्रेल चयन हुनुभएको छ ।

यस्तै, नगर सदस्यहरूमा लक्ष्मी सुनार सेन्चुरी (दलित महिला सदस्य), सिर्जना चापागाईं पौडेल, विष्णु सापकोटा, चन्द्रकान्त सापकोटा, अनन्ती देवी पौडेल, फारम शर्मा गौतम र विकास ओझा चयन हुनुभएको छ ।

रास्वपाको विधा अनुसार सभापतिले कार्यसमिति भित्रबाट कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था रहन्छ । शनिवारको नगर अधिवेशन कार्यक्रम पार्टीका केन्द्रीय सदस्य राजन गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।