

माडी, चितवन — ब्लड क्यान्सर रोगका कारण गतसाता निधन भएका माडी कान्तिपुरका युवा प्रताप बहादुर खत्रीको परिवारले स्थानीय अर्का एक बिरामीलाई उपचार सहयोग गरेको छ । माडी-८ निवासी, पसिना ग्रन्थी नभएका ८ बर्षका बालक अश्लेष राईको उपचारमा सघाउन सहयोग हस्तान्तरण भएको हो ।

‘उपचारका क्रममा रहेका भाई प्रतापको मृत्यु भएपश्चात कोरा बसेको समयमा प्राप्त हुनआएको (मरणोपरान्त प्राप्त उपचार सहयोग रकम) १३ हजार रुपैंयामा परिवारका तर्फबाट ७ हजार रुपैंया थप गरी पसिना ग्रन्थी सम्बन्धी बिरामी बालक राईको उपचारका लागि प्रदान गरेको’ मृतकका दाजु सुर्य खत्रीले बताउनुभयो ।

‘भाईको मृत्यु पश्चात प्राप्त उनको उपचारका लागि प्राप्त सहयोग रकम परिवारले राख्न उचित नठानी अर्का बिरामीलाई सहयोग गरिएको’ उहाँले बताउनुभयो । मृतक खत्रीका बुबा डम्बर बहादुर खत्रीले बिरामी बालक राईका बुबा कृष्ण बहादुर राईलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

क्यान्सर पीडित खत्रीको गत चैत ३१ गते राजधानी काठमाडौंस्थित त्रि.वि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । क्यान्सरको महंगो उपचारमा खत्री परिवारलाई सघाउन स्थानीय युवा सञ्जु थापाको अगुवाइमा उपचार सहयोग अभियान चलेको थियो । त्यसक्रममा १२ लाख ८७ हजार रुपैंया संकलन भएको थियो । उपचारका लागि ४० लाख बढी खर्च भएकोमा बाँकी रकम खत्री परिवारले नै जुटाएको थियो ।