

माडी, चितवन — युकेमा बसोबास गर्नुहुने माडी कृष्णनगरका सामाजिक अभियन्ता कृष्ण गुरुङले लन्डन म्याराथनमा सहभागिता जनाउँदै माडीका विपन्न र एकल महिलाहरुका लागि आर्थिक सहयोग संकलन गर्नुभएको छ ।

गोर्खाप्रेनियर फाउण्डेशनका प्रमुख समेत रहनुभएका ५२ वर्षीय गुरुङले नेपाल (माडी नगर क्षेत्र) का विपन्न एकल महिलाहरूलाई सानो व्यवसाय सुरु गर्न आर्थिक सहयोग जुटाउने लक्ष्यसहित म्याराथन दौड पुरा गर्नुभएको हो । म्याराथन पुरा गरेपछि खुसी व्यक्त गर्दै उहाँले ‘दृढ इच्छाशक्तिको बलमा अन्तिम गन्तव्य पुरा गरेको’ बताउनुभयो ।

म्याराथनका सन्दर्भमा सञ्चालन भएको अभियानमा १८०० पाउण्ड (करीब ३ लाख २० हजार रुपैयाँ) संकलन भएको छ । सो रकम माडी क्षेत्रका विपन्न र एकल महिलाहरुका लागि सानो पुँजीको व्यवसाय सुरुवातका लागि बिना ब्याज बीउपुँजीका रुपमा वितरण हुनेछ । गुरुङले सहयोग गर्ने सबै उदार व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमा पूर्ण विवरण सार्वजनिक गर्ने बताउनुभएको छ ।
