माडीको घाँघर, टुनामुना र परयु खोलामा पुल निर्माणको प्रक्रिया सुरू

580
SwadeshPost

माडीको बनकट्टा बगहीँ हुलाकी सडक अन्तरगत पूर्वी क्षेत्रका घाँघर, टुनामुना र परयु खोलामा पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । पुल निर्माणको लागि शनिवार माडीको खरकट्टा स्थित जनजीवन माध्यमिक विद्यालयमा वातावरणीय प्रभाव मुल्यांकन अन्तरगत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय सडक विभागको भू-वातावरण तथा सामाजिक शाखा, चाकुपाट ललितपुरको आयोजनामा सम्पन्न सो सार्वजनिक सुनुवाईमा माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाल, वडा नं. ७ र ९ का वडाध्यक्षहरु बालकृष्ण सापकोटा र शिवहरि सुवेदी, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका नेता नारदमणी पौडेलसंगै नगर कार्यपालिकाका सदस्यहरु र स्थानीयबासी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पेश गरिएको प्रस्तावना अनुसार माडी नगरपालिकाको वडा नं. ८ र ९ जोड्ने घाँघर खोला पुल १२७ मिटर लामो र ७.६ मिटर चौडा हुनेछ भने पुलको दुबै छेउमा १.३ मिटरको फुटपाथ रहनेछ । यो पुल निर्माणको लागि करीब एक करोड १४ लाख लगत स्टीमेट रहेको छ । त्यसैगरी माडीको वडा नं. ८ भित्रै पर्ने जीवनपुर र खरकट्टा जोडिने टुनामुना पुल ७० मिटर लामो तथा ७.५ मिटर चौडा हुनेछ भने पुलको दुबै किनारामा १.७५ मिटरको फुटपाथ रहनेछ । यो पुल निर्माणका लागि करीब ५ करोड ७५ लाख लागत रहने जनाइएको थियो ।

त्यसैगरी प्रस्तावित परयू खोलाले माडी नगरपालिकाको वडा नं. ७ जीवनपुर र वडा नं. ८ देबेन्द्रपुर जोड्ने छ । समुन्द्री सतहबाट १९५ मिटरको उचाईमा निर्माण हुने यस पुल ९२.६ मिटर लामो तथा ७.५ मिटर चौडा रहने छ । पुलको दुबै किनारामा १.३ मिटर चौडा फुटपाथ बन्ने सो पुलको लागत भने करीब १० करोड ६६ लाख रहेको प्रस्तावित गरिएको छ ।

जमीनको सतहमै बग्ने गरेका सो तीनवटै खोलाहरुमा बाढी आउँदा संधै यातायात अवरुद्ध हुनेगरेको छ भने बर्षातको बाढीमा परी पटक पटक मानवीय हताहती तथा जमीन र खेतीपातीको नोक्सानी हुने गरेको छ ।

SwadeshPost