दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय रहने स्थानका बिषयमा पुनः हानथाप सुरु

603
SwadeshPost

दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीमा बन्ने भएपछि सो शिक्षालय रहने स्थानका बिषयमा पुनः हानथाप सुरु भएको देखिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टी.ई.भी.टी.)ले सो शिक्षालयका लागि करीब ५ बिगाहा जमीन आवश्यक पर्ने जनाएको छ ।

त्यति जमीन आफ्नो क्षेत्रमा जुटाउन सकिने भन्दै भैरवपुर, सितलपुर र हरिनगरका अगुवाहरु लागि परेको देखिएको हो । यसअघि माडीको राधापुर क्षेत्रमा रहेको करीब २० बिगाहा क्षेत्रफल जमीनमा निर्माण हुनेगरी सर्वदलीय सहमती केन्द्रमा पठाइएको थियो । तर सो जमीन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको अधिकारभित्र पर्ने भन्दै निकुञ्जले असहमती जनाएको थियो ।

निुकञ्ज र बन मन्त्रालयको असहमतीका कारण माडीका लागि स्वीृकत सो तीन नम्बर प्रदेश स्तरको शिक्षालय अनिश्चित बनेको थियो । तर हालै माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल लगायतको प्रतिनिधीमण्डलले शिक्षामन्त्री गिरीराजमणी पोखरेलसंग भेटघाट गरी आवश्यक जमीन उपलब्ध गराउने जनाएसंगै शिक्षालय माडीमै बन्ने बाटो खुलेको हो ।

दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका लागि जग्गा उपलब्ध गराउन हरिनगर आधारभूत विद्यालय तयार भएको देखिएको छ । विद्यालयसंग ४ बिगाहा १९ कठ्ठा १० धुर जमीन संगै भवनलगायतका भौतिक श्रोतसाधन रहेकोले प्राविधि शिक्षालयको मापदण्ड अनुसारको जमीन र भौतिक स्रोतसाधन हस्तान्तरण गर्न सकिने सो विद्यालयका सरोकारवालाहरुको भनाई रहेको छ ।

उता, माडीको वडा नं. २ मा बहुप्राविधिक शिक्षालयका लागि आवश्यक जमीन र श्रोतसाधन जुटाउन समस्या नरहेको भन्दै स्थानीय अगुवाहरु बहुप्राविधिक शिक्षालय ल्याउन लागिपरेका छन् । २०७३ साल भदौको ५ गते नै माडीको तात्कालीन सर्वदलीय संयन्त्रले प्राविधिक शिक्षालय माडी नगरपालिका वडा नं. २ मै बनाउने सहमती गरिसकेकोले त्यसलाई पालना गर्नुपर्ने सो पक्षको भनाई रहेको छ । तर माडीका कतिपय बुद्धिजीविहरुले भने माडीको जुनसुकै ठाउँमा भएपनि हुने, तर ठाउँको खिँचातानीले यस अवसर गुम्न नहुने बिचार राखेका छन् ।

SwadeshPost