माडीको मगोई खोलामा रहेको बिजुलीको हाइटेन्सन पोल ढल्ने अवस्थामा

762
SwadeshPost

माडीको मगोई खोलामा रहेको बिजुलीको हाइटेन्सन पोल ढल्ने अवस्थामा पुगेको छ ।

चनौली जगतपुर माडी ३३ केभी हाइटेन्सन प्रसारणमार्फत बसन्तपुरमा रहेको बिजुलीको सबस्टेशनसम्म ३३ किलो भोल्टको बिजुली पु¥याउने सो पोल गतबर्षको बाढीका कारण ढल्किएको हो । यसबर्ष ठूला बाढीहरु आउने मौसम जारी रहेको र जुनसुकै दिन मगोई खोलामा ठूलो बाढी आई पोल ढल्नसक्ने सम्भावना रहेको हो । गतबर्ष नै ढल्किएको सो पोल मर्मत गर्न भने नेपाल विद्युत प्राधिकरणले वास्ता गरेको छैन । पोल ढल्न पुगे पुरै माडीमा बिजुली सेवा अवरुद्ध हुने जानकारी हुँदाहुदै पनि प्राधिकरणले पोल मर्मतमा चासो नदिएको देखिएको छ । केहि महिना अगाडि हावाहुरीका कारण मगोई खोला नजिकै सिधुवा चोकका पोलहरु ढल्दा करीब एक साता बिजुली अवरुद्ध भएको थियो । कहिले चितवन राष्ट्रिय निकुञ्जको भूमिगत केबुल बिग्रिएर त कहिले पोल ढलेर माडीमा बिद्युत सेवा अवरुद्ध हुँदै आएको छ । तर त्यसको पूर्व निराकरण तथा पूर्व तयारीमा नेपाल विद्युत प्राधिकरण लगायत सम्बन्धित निकायहरु खासै सक्रिय भने हुने गरेका छैनन् ।

यसैबिच, माडीको बिजुली सेवामा संधै समस्याका रुपमा रहिरहेको चितवन राष्ट्रिय निकुञ्ज भित्रको भूमिगत केबुल व्यवस्थापन गर्न सम्बन्धित निकायले खासै चासो दिएको छैन । चनौली जगतपुर माडी ३३ केभी प्रसारण लाईन अन्तरगत निकुञ्जभित्र निरन्तर समस्या आई माडी उपत्यकाको बिजुलीसेवा प्रभावित हुँदै आएको छ । हरेक पटक फल्ट एलोकेटर मेसिन ल्याएर केबुल बिग्रिएको ठाउँ पत्ता लगाई मर्मत गरेपश्चात विद्युतसेवा सुचारु हुँदै आएको छ ।

SwadeshPost