१०८ शिवलिंग निर्माण अभियानको प्रदेश मन्त्री अरुण नेपालद्वारा शिलान्यास

329
SwadeshPost

शनि मन्दिरमा १०८ शिवलिंग निर्माण अभियानको आज औपचारिक शिलान्यास गरिएको छ । माडीको देबेन्द्रपुरस्थित सामुदायिक बन परिसरमा रहेको शनि मन्दिरमा आयोजित एक कार्यक्रमबिच प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल ले भूमिपूजन सहित निर्माणाधीन १०८ शिवलिंगको शिलान्यास गर्नुभएको हो ।

शनि मन्दिरका संरक्षक माडीका आचार्य युवा पण्डित सुदर्शन सुवेदीको अध्यक्षतामा सम्पन्न भूमिपूजन तथा शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी रहनुभएका प्रादेशिक मन्त्री नेपालले शिवलिंग स्थापनाको शिलान्यास गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले प्रदेश सरकारले नेपालकै दोश्रो शनि मन्दिरसंगै माडी उपत्यकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न विशेष कार्यक्रम ल्याउने आश्वासन दिनुभयो । माडी धार्मिक तथा पर्यटकीय सम्भावना र महत्व बोकेको क्षेत्र भएपनि पर्याप्त प्रचारप्रसार हुन नसकेको उहाँको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माडी नगरपालिकाका नगर उपप्रमुख तारा कुमारी काजी महतोले माडीको पर्यटन विकास गर्न माडी नगरपालिकाले १ करोड विनियोजित गरेको जानकारी दिनुभयो ।

शिलान्यास तथा भूमिपूजन कार्यक्रममा माडी नगर पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेल, माडी नगर खेलकुद विकास समितिका अध्यक्ष हरि भुसाल, माडी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु वालकृष्ण सापकोटा, कृष्णराज अधिकारी, शिवहरी सुवेदी, रामबन्धु पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता श्याम विष्ट, नारदमणी पौडेल र श्री प्रसाद दवाडी लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा सहभागी हुन सयौंका संख्यमा श्रद्धालु भक्तजन र दर्शकहरु शनि मन्दिर परिसर पुगेका थिए ।

शनि मन्दिरलाई माडीकै नमुना धार्मिक पर्यटनस्थल बनाउनका लागि १०८ शिवलिङ्ग स्थापना गर्ने अभियान चलेकोमा त्यस अभियानमा समाहित हुँदै माडी तथा भरतपुर देखि तनहुँसम्मका समाजसेवी वुद्धिजिवीहरुले एक एक शिवलिङ्ग दान गरी अहिलेसम्म ७३ वटा शिवलिंग स्थापना गर्ने दाताहरु भेटिइसकेका छन् । माडीको धार्मिक पर्यटन वृद्धि गर्नका लागि दक्षिण सोमेश्वर कालिका धार्मिक समितिले २०७४ चैत्र १५ गते स्थापना गरेको शनि मन्दिरमा हरेक शनिबार चितवन र वरपरका जिल्लाहरुबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

२०३५ सालमा स्थानीय वासीन्दाहरुले झण्डै २५ भन्दा धेरै शक्तीपिठ सिद्धपिठहरुबाट शिला ल्याएर स्थापना गरी चैत्र रामनवमी र विजयादशमीमा पुजा सञ्चालन गरि सुरुवात गरिएको स्थानमा अहिले दक्षिण सोमश्वर कालिका, शिव, गणेश, हनुमान भैरव, शनि भगवानका मूर्ती साथै जोरसाल, हरिण, मृग, माडीको सबैभन्दा ठुलो घण्टी, अग्लो त्रिशुल र माडीको दृश्यावलोकन गर्न सकिने भ्युप्वाइन्ट रहेकोले सो स्थानलाई विशिष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने देखिन्छ ।

SwadeshPost