भारी बर्षासंगै माडीको यातायात प्रभावित, खाेलामा गाडाहरुकाे मनोमानी

157
SwadeshPost

एकाबिहानै परेको भारी बर्षाका कारण अाइतबार बिहान केहि घण्टा माडीको यातायात सेवा प्रभावित भएको छ । बर्षाका कारण नारायणगढ माडी ठोरी हुलाकी सडकमा चल्ने सार्वजनिक यातायातसंगै सानाठूला सवारी साधन चल्न नसकेका हुन । माडीको मगोई, बाँदरमुढे, रिमाल, घाँघर लगायतका खोलाखहरेहरुमा बाढी आएका कारण सवारी साधनको सञ्चालन अवरुद्ध भएको थियो । माडीका खोला तथा खहरेहरुमा पुल निर्माण भइसेका छैनन् । सवारी साधन रोकिँदा कामकाजका लागि यात्रामा निस्किएका यात्रीहरु समस्यामा परेका थिए ।

यसैबिच, बाढी आउँदा मगोइ र बाँदरमुढे खोलमा मोटरसाइकल तार्न भनी सञ्चालनमा गएका गाडाहरुले मनोमानी पैसा उठाएका छन् । मगोई खोलामा एउटा मोटरसाइकल तारेको एक सय रुपैंया तथा बाँदरमुढे खोलामा एउटा मोटरसाइकलको पचास रुपैंया लिइएको मोटरसाइकल चालकहरुले गुनासो गरेका छन् । खोलामा पुल नहुँदा गाडावालाहरुले सेवा दिने नाउँमा चर्को पैसा उठाउँदा मोटरसाइकल चालक तथा अन्य यात्रीहरुलाई समस्या परेको हो ।

SwadeshPost