माडी सामुदायिक होमस्टेद्वारा माडी नगरपालिकासंग अन्तरक्रियात्मक छलफल

270
SwadeshPost

माडी सामुदायिक होमस्टेका सञ्चालकहरुले माडी नगरपालिकासंग अन्तरक्रियात्मक छलफल गरेका छन् । माडीको पुरानो थारु बस्तीका रुपमा रहेको बघौंडामा संचालन हुन लागेको सो होमस्टे निर्माणका लागि बाहिरी सहयोग, अनुदान, ब्यवस्थापन तथा होमस्टेले बघौंडा गाउँसंगै समग्र माडीकै पर्यटन विकासमा पु-याउने सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, नगर उप-प्रमुख ताराकुमारी काजी महतो, वडा नं. ३ नं. का वडाध्यक्ष पुरन महतो, थारू कल्याणकारी सभाका चितवन जिल्ला सभापति ललित चौधरी, पर्यटन विकास समिति माडीका सचिव गोविन्द न्यौपाने तथा सीप-नेपालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी होमस्टे स्थापनाको तयारी गरेका बघौंडा गाउँका स्थानीयबासीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले होमस्टे सञ्चालनका लागि माडी नगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिनुभयो । होमस्टेका लागि आवश्यक तालिम, अनुदान सहयोग तथा होमस्टे सञ्चालकहरुलाई ४ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

यसैबिच, बघौंडा गाउँमा स्थानीय थारु समुदायद्वारा स्थापना हुन लागेको माडी सामुदायिक होमस्टेको टोलीले अयोध्यापुरीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेको अवलोकन भ्रमण गरेको छ । भ्रमणमा पुगेको टोलीलाई अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष मोहन पुन मगरले होमस्टे सञ्चालनका अनुभवहरु सुनाउनुभयो । टोलीले होमस्टेका भवन, भित्री साजसज्जा, व्यवस्थापन, सभाकक्ष लगायतका संरचनाहरुको अवलोकन गरेका थिए । होमस्टे सञ्चालनका अनुभवसंगै यसका समस्या र चुनौतीहरुका बिषयमा अन्तरक्रिया समेत गरिएको माडी सामुदायिक होमस्टे स्थापनाका अभियन्ता गोबिन्द न्यौपानेले जनाउनुभयो ।

SwadeshPost