सि.टि.इ.भि.टी.द्वारा माडीमा बहुप्राबिधिक शिक्षालय संचालन गर्ने निर्णय

669
SwadeshPost

प्राबिधिक तथा ब्यबसायिक तालिम परिषद् (सि.टि.इ.भि.टी.)ले माडीमा आगिंक शिक्षालयका रुपमा दिवाकर बहुप्राबिधिक शिक्षालय संचालन गर्ने निर्णय गरेको छ ।

सोमबार शिक्षा मन्त्रालयमा बसेको सि.टि.इ.भि.टीको बैठकले चितवनको माडी नगरपालिका क्षेत्रभित्र स्थापना हुनेगरी दिवाकर बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्ने निर्णय गरेको हो । माडीसंगै अन्य आठ जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने एकसाथ निर्णय गरिएको हो । यो संगै देशभरका ९५ वटा सामुदायिक विद्यालयहरुलाई तीनवर्षे प्राविधिक शिक्षा सञ्चालन गर्न समेत स्वीकृति दिइएको परिषद्का सदस्य भरत रेग्मीले स्वदेश एफ.एम. तथा स्वदेश पोष्ट अनलाइनलाई जानकारी दिनुभयो ।

यसअघि माडीको राधापुरमा रहेको चौरमा निर्माण गर्नेगरी प्रस्तावित सो शिक्षालयको काम चितवन राष्ट्रिय निकुञ्जको असहमतीका कारण अन्यौलमा परेको थियो । तर केहि हप्ता अघि माडी नगरपालिकाको नगर प्रमुख ठाकुर प्रसाद ढकाल लगायतको प्रतिनिधीमण्डलले शिक्षामन्त्री गिरीराजमणी पोखरेलसंग भेटघाट गरी सि.टि.इ.भि.टी.कै नाउँमा ५ बिगाहा जमीन पास गर्ने जनाउनुभएपछि सो शिक्षालय माडीमै बन्ने बाटो खुलेको हो । मेयर ढकालले सिटिईभिटिको आंगिक क्याम्पसको रुपमा दिवाकर बहुप्राविधिक शिक्षालय संचालन हुने निर्णयले माडीबासीलाई खुशी तुल्याएको प्रतिक्रिया दिनुभएको छ ।

परिषद् अन्तर्गत हाल ३७ वटा आङ्गिक शिक्षालय, २१७ वटा सामुदायिक विद्यालय, ५ वटा साझेदारी शिक्षालय तथा ४२९ वटा निजी संस्थाहरुमा करीब ८०० तालिम सञ्चालन भइरहेको जनाइएको छ । माडी उपत्यकाकै माडी माध्यमिक विद्यालयमा प्राविधिकधारतर्फ पशुबिज्ञान अध्यापन भइरहेको छ भने हालै जनकल्याण माध्यमिक विद्यालयले समेत प्राविधिधारको शिक्षा प्रदान गर्न सम्बन्धन प्राप्त गरेको छ । बहुप्राविधिक शिक्षालयको स्थापनासंगै माडीले शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने विश्वास गरिएको छ ।

SwadeshPost