बहुप्राविधिक शिक्षालय माडीको हरिनगरमा रहने निश्चित (भिडियाे सहित)

376
SwadeshPost

दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय अन्ततः माडीको हरिनगरमा रहने निश्चित भएको छ । हाल सञ्चालनमा रहेको हरिनगर आधारभूत विद्यालयलाई छिमेकी विद्यालयमा समायोजन गरी वर्तमान भौतिक श्रोतसाधन र जमीनको उपयोग गर्दै दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने माडी नगरपालिकाले निर्णय गरेको नगर शिक्षा संयोजक तथा वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो । स्वदेश एफ.एम.को दैनिक बहसमुलक कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै वडाध्यक्ष एवं शिक्षा संयोजक अधिकारीले माडीको जुनसुकै ठाउँमा सञ्चालित भएपनि माडीले गौरव गर्नुपर्ने र यसपटक हरिनगर आधारभूत विद्यालयमा रहने निश्चित भएको जानकारी दिनुभयो ।

उता, शिक्षालयका लागि आवश्यक जग्गा उपलब्ध गराउन हरिनगर आधारभूत विद्यालय समेत तयार भइसकेको छ । विद्यालयसंग सरोकार राख्नेहरुको सर्वपक्षीय बैठकबाट बहुप्राविधिक शिक्षालयका लागि विद्यालयले जग्गा उपलब्ध गराउने सहमती गरेको थियो । पाँच बिगाहा क्षेत्रफल भन्दा धेरै जमीन सहित भौतिक संरचना रहेको सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या कम रहेको र नजिकैको विद्यालयमा मर्ज हुन समेत सहज हुने भएकोले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका लागि सो विद्यालयको जमीन उचित हुने निक्र्यौल भएको हो ।

यसअघि माडीको राधापुरमा रहेको चौर, सितलपुरमा रहेको देवीस्थान आधारभूत विद्यालय र भैरवपुरस्थित आधारभूत विद्यालय भैरवपुरमा पनि सो शिक्षालय स्थापना गर्नुपर्ने छुट्टा छुट्टै लबिङ चलेको थियो । तर अन्तिममा हरिनगर क्षेत्रमा शिक्षालय स्थापना हुँदा राम्रो हुने भन्नेमा सबैतिर एकतहको स्वीकारोक्ति देखिएको छ ।

https://youtu.be/oP3y0uATtMY

SwadeshPost