माडीकाे रुटमा प्रति कि.मि. रू २.६५ भाडादर कायम गर्न सिफारिस

353
SwadeshPost

भरतपुर माडी ठोरी रुटमा यात्रु भाडादर निर्धारणका लागि बहुपक्षीय छलफल गरिएको छ । नारायणगढदेखि माडी ठोरी हुँदै सुवर्णपुरको रुटमा सार्वजनिक यातायात सञ्चालन गर्ने ब्यवसायी, माडी नगरपालिका कार्यालय, नागरिक समाज माडी, माडीका आमसञ्चार माध्यम र उद्योग वाणिज्य संघ माडी लगायतका सरोकारवालाहरु बिच यातायात भाडादर निर्धारण, छुट तथा माडीको यातायात सेवा व्यवस्थित गर्ने बिषयमा छलफल भएको हो ।

माडी नगरपालिकाको सभाहलमा मंगलबार सम्पन्न सो कार्यक्रममा नगरपालिकाका तर्फबाट नगर प्रमुख ठाकुर प्रसाद ढकाल, नगर उपप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी लगायतको सहभागिता रहेको थियो भने वभिन्न वडाका वडाअध्यक्ष, सञ्चार संस्थाका प्रतिनिधीहरु र यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले नगरपापलिका क्षेत्रमा बस सञ्चालन गर्नुपर्दा माडी नगरपालिकामा १५ दिनभित्र बस दर्ता गराउनुपर्ने जनाउँदै त्यसो नगर्ने यातायात व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याउने जनाउनुभएको थियो ।

छलफलबाट, हरेक सार्वजनिक सवारीहरुमा अपांग, महिला तथा बृद्धबृद्धाको आरक्षण सिट कडाइको साथ लागु गर्ने, बृद्धबृद्धाहरुलाई माडी भित्रको यात्रामा निःशुल्क आवतजावत गर्न पाउने व्यवस्था र कार्यान्वयनको तहलाई कडाइका साथ लागु गर्ने, यातायात सेवालाई मर्यादित र सम्मानित बनाउनका लागि चालक, सहचालक, तथा कर्मचारीको यात्रुसंगको व्यवहार सभ्य बनाउने, सवारी साधनको समयतालिका बनाइ सवारीे आगमनको नियमितता लागु गर्ने र माडीभित्र चल्ने सवारी साधनहरुलाई माडी नगरपालिकाकोे कर दायरा भित्र समावेश गरी व्यवस्थित गर्ने निर्णय भएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय चितवनलाई माडी ठोरी रुटमा प्रति किलोमिटर २ रुपैंया ६५ पैसा कायम गर्न सिफारिस गर्ने समेत निर्णय भएको छ ।

SwadeshPost