काँग्रेसद्वारा ज्ञापनपत्र बुझाउँदै माडी नगरपालिकाको कार्यसम्पादनको बिरोध

289
SwadeshPost

नेपाली काँग्रेस माडी नगर समितिले आज १५ बुँदे ज्ञापनपत्र बुझाउँदै माडी नगरपालिकाको कार्यसम्पादनको बिरोध गरेको छ । हिजो दिउसो माडी नगरपालिकाको सभाकक्षमा काँग्रेसका नगर सभापति कोमलनाथ भुसालले चार पृष्ठ लामो सो १५ बुँदे ज्ञापनपत्र नगर प्रमुख ठाकुर प्रसाद ढकाललाई सुनाएर हस्तान्तरण गर्नुभयो । ज्ञापन पत्रमार्फत काँग्रेसले एकीकृत कर लगाउँदा ठुला व्यापारी र उद्योगपतिहरुको जमीनको मुल्याङ्कन बढाएर सिमित वर्गलाई लाभ दिने अवस्था सृजना गरेको आरोप लगाएको छ । त्यसैगरी सिफारिस कर अनुपयुक्त ढङ्गले वृद्धि गरिएको, व्यवसायिक रुपमा सफल व्यक्ति तथा फर्मलाई अनुदान र सहयोग गरी लोकप्रिय हुने सजिलो बाटो अपनाइएको, नगर स्तरीय विभिन्न समितिहरु गठन गर्दा करीब अाधा जनमत पाएको प्रतिपक्षलाई उपेक्षा गरी एकलौटी गरिएको आरोप लगाइएको छ ।

त्यसैगरी योजना बनाउँदा प्रतिपक्षले सुझाव राख्ने लोकतान्त्रिक पद्धतीको पनि उपेक्षा गरेको, सार्वजनीक सुनुवाई नगरिएका, माडीभरी बिजुली विस्तार गर्न नगरपालिका उदासीन रहेको, किसानहरुलाई मलबीउमा सहजिकरण गर्न नसकेको, एकपक्षीय ढंगले विद्यालय समायोजन तथा विद्यालयको नाम परिवर्तन गराएको, स्कुल मर्ज गर्दा आस्थाका आधारमा शिक्षकहरुलाई दुःख दिने मनसायले सरुवा गरेको, सुकुम्बासी समस्या समाधानमा चासो नदिएको, बघौडा अस्पताललाई सेवामुखी बनाउन नसकिएको र मध्यवर्ती क्षेत्रमा रहेका पीडित जनताहरुको लागि राहत र क्षतिपुर्ति पाउने कार्यमा नगरपालिकाले ठोस कदम चाल्न नसकेको पनि आरोप लगाइएको छ । मागहरुमा चासो नदिए आन्दोलनका कार्यक्रमहरु घोषणा गरी अगाडि बढ्ने काँग्रेसले जनाएको छ ।

यसैबिच, ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडी नगरपालिकाको विकासमा काँग्रेसलगायत सबैको सहयोग आवश्यक रहेको जनाउँदै कुनैपनि खालको भ्रष्टाचार सहन गर्न नसकिने जनाउनुभयो । कतिपय माग नगरपालिकाको क्षेत्राधिकार भन्दा बाहिरको भएको भन्दै नगरप्रमुख ढकालले त्यसको हल गर्न केन्द्रसम्म पहल गर्ने जनाउनुभयो । साथै नगरपालिकाले गर्न सक्ने कामहरु अगाडि बढाउन नगरपालिका तयार रहेको उहाँको भनाई थियो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा काँग्रेसका पूर्व साँसद तीर्थराज भुसाल, जिल्ला सदस्य शोभाखर चापागाईं, महिला नेतृ सबिता बराल लगायतका जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

SwadeshPost