बाल भित्तेपत्रिका प्रकाशन तथा आधारभूत उद्घोषण तालिमकाे समापन

479
SwadeshPost

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) माडी र स्वदेश एफ.एम.को संयुक्त आयोजनामा तीनदिनदेखि जारी बाल भित्तेपत्रिका प्रकाशन तथा आधारभूत स्टेज उद्घोषणको तालिम समापन भएको छ । आइतबार एक संक्षिप्त समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम गरी तालिम समापन गरिएको हो ।

कार्यक्रमको सभाध्यक्ष प्याब्सन माडीका अध्यक्ष हर्कबहादुर चापागाईं तथा प्रमुख अतिथि माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । कार्यक्रममा तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख महतोले संस्थागत विद्यालयहरुले समग्र शिक्षाक्षेत्रको गुणस्तर बढाउन मानकको काम गरिरहेको र माडीबाट बसाइसराइ भइ अन्यत्र जाने प्रक्रियालाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको टिप्पणी गर्नुभयो ।

तालिममा माडीका संस्थागत विद्यालयहरुमा अध्ययनरत ४० जना विद्यार्थीहरु सहभागी रहेका थिए । सहभागी विद्यार्थीहरुलाई स्वदेश एफ.एम.का अध्यक्ष तथा आमसञ्चार एवं पत्रकारिताका राष्ट्रिय प्रशिक्षक देव अञ्जान शाहसंगै पिसल्याण्ड इङ्गलिस सेकेण्डरी स्कूलका प्राचार्य माधव पोखरेल, स्वदेश एफ.एम.का सञ्चारकर्मी दीपा सुवेदी र राजेश घतानेले सहजिकरण गर्नुभएको थियो । बसन्तपुरको शिखर पार्टी प्यालेसमा सञ्चालन भएको सो तालिमका प्रशिक्षार्थीहरुलाई विद्यालयमा भित्ते पत्रिका प्रकाशन र स्टेज उद्घोषणको सैद्धान्तिक ज्ञानसहित प्रयोगात्मक अभ्यास गराइएको थियो ।

SwadeshPost