मानव बेचबिखन तथा ओसारपोसार बिरुद्ध अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

671
SwadeshPost

मानव बेचबिखन तथा ओसारपोसार बिरुद्धको १२ औं राष्ट्रिय दिवशको अवसरमा मंगलबार एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।“संघीयताको महत्वपूर्ण सार, मानव बेचबिखन अन्त्यका आगि जिम्मेवारी र सहकार्य सहित गरौं खबरदार” भन्ने नारासहित माडी नगरपालिकाको आयोजना तथा के.आई. नेपाल, थ्रि एञ्जल्स नेपाल, सीप नेपाल र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो । माडी नगरपालिकाको महिला समन्वय समितिकी संयोजक कोपिला सिवाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सभाध्यक्ष माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाल तथा विशिष्ट अतिथि नगर उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा माडीको विभिन्न वडाका वडाध्यक्षहरु शिवहरी सुवेदी, कृष्णराज अधिकारी, रामबन्धु पोखरेल, चन्द्रदीप महतो, थ्री एञ्जल्स नेपाल चितवनका अध्यक्ष रेशमलाल आचार्य, इलाका प्रहरी कार्यालय माडीका प्रमुख युवराज तिमिल्सिना, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय छरछरेका प्रमुख प्रकाश पाण्डे, स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाह लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई थ्रि एञ्जल्स चितवनका अध्यक्ष आचार्यले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

मानव बेचविखन र लैङ्गिक हिंसा अन्त्यको अभियानका क्रममा आयोजित सो कार्यक्रममा माडीका क्रियाशील महिला अधिकारकर्मीहरु, गैरसरकारी संघसंस्थाहरुका प्रतिनिधीहरु, महिला समूहका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा के.आई. नेपालका चितवन जिल्ला संयोजक केमिका घिमिरेले बदलिँदो परिस्थितिमा मानव बेचबिखन तथा ओसारपोसारका विभिन्न पाटोहरुका बिषयमा स्लाइड सो मार्फत जानकारी गराउनुभएको थियो । कार्यक्रममा बहुउद्देश्यीय श्रोत केन्द्रका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका थिए ।
त्यस्तै, माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले बैदेशिक रोजगारीको नाउँमा तथा विभिन्न प्रलोभन देखाई माडीका चेलीबेटीको जीवन बर्बाद गर्ने काम भइरहेकोले यसमा महिलाहरु सजग रहनुपर्ने बिचार व्यक्त गर्नुभयो । मानव बेचबिखन तथा ओसारपोसार बिरुद्धको १२ औं राष्ट्रिय दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नगर प्रमुख ढकालले अपरिचित मानिसहरु नाताजोड्न आउने बहानामा छोरीचेलीहरुलाई बिदेश लैजाने गरेकोले संकास्पद कोही भेटेमा तुरुन्त प्रहरी कार्यालय वा नगरपालिकालाई खबर गरी महिलाको जिवन उद्धार गर्न अनुरोध गर्नुभयो । उहाँले ठुलो महलको सपना देखेर बैदेशिक रोजगारीमा जान चाहने महिला दिदी बहिनिहरुलाई भरसक विदेशतिर नगई माडीमै केहि सिप सिकि उपलब्धिमुलक काम गर्न पनि अनुरोध गर्नुभयो । स्वरोजगार हुन केहि गर्छु भन्ने महिला दिदिबहिनिहरुलाई माडी नगरपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो ।
त्यसैगरी, माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले माडीमा विगतका दिनहरुका भन्दा हाल कुरिती, मानव बेचबिखन, बलात्कार र दुब्र्यशनी बढेको जनाउँदै माडी मानब बेचबिखन र अपराधको ट्रान्जिट प्वाइन्ट बन्ने सम्भावना बढेको भनाइ व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रमको विशिष्ट अतिथिका रुपमा बोल्दै उहाँले आम माडीबासीहरुलाई सचेत गराउन माडी नगरपालिकाले प्रयास गरिरहेको जनाउनुभयो ।
यसैबिच, मानव बेचबिखन तथा ओसारपोसार बिरुद्धको १२ औं राष्ट्रिय दिवशको अवसरमा आयोजित सो अन्तरक्रियामा स्वागत मन्तव्य राख्दै थ्री एञ्जल्स चितवनका अध्यक्ष रेशमलाल आचार्यले थ्री एञ्जल्स संस्थाद्वारा चितवन जिल्लाभर ४४ वटा सचेतनामुलक कार्यक्रम भएको, ८ वटा निगरानी समूह गठन भएको, सहायता कक्ष र लघुबित्त कार्यक्रम सञ्चालनमा रहेको तथा माडीको बसन्तपुरमा परामर्श केन्द्र सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

SwadeshPost