भड्किलो हुँदै गएको तीज खारेज हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुकाे जोड

454
SwadeshPost

नारीहरुको दुःख र बेदना बोल्ने पर्वका रुपमा रहेको तीज पछिल्लो समयमा भड्किलो हुँदै गएकोले तीज खारेज हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्रखर कवयित्री, स्तम्भकार तथा महिला अभियन्ता सरिता तिवारी र मदन पुरस्कार विजेता साहित्यकार एवं महिला अधिकारकर्मी राधा पौडेलले एक बहस कार्यक्रममा बोल्दै विकृत बन्दै गएको तीजको औचित्य सकिँदै गएको जिकिर गर्नुभएको हो ।माडी नगरपालिका अन्तरगतको महिला समन्वय समितिको आयोजनामा शनिबार माडी क्याम्पसको सभाहलमा सम्पन्न तीज कति संस्कृति कति विकृति शीर्षकको बहसमा पछिल्लो दिनमा तीज पर्व भड्किलो एवं विकृत हुँदै गएको बिषयमा छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै साहित्यकार एवं महिला अधिकारकर्मी राधा पौडेलले परम्परागत रुपमा तीज पर्व चेलीहरुको अन्तरमनमा दबिएर रहेका पीडा, भावना र समस्याहरु उजागर गर्ने चाडका रुपमा रहेको भएपनि यतिखेर गरगहना देखाउने, महिनौं अघिदेखि दर खानेनाउँमा पार्टी प्यालेसमा भड्किलो कार्यक्रम गर्ने चाडका रुपमा बदँलिदै गएको जनाउनुभयो । त्यसैगरी कवियत्री तथा महिला अभियन्ता सरिता तिवारीले तीजसंग जोडिएको ब्रत बस्ने, ऋषिपञ्चमीको पुजा गर्ने लगायतका प्रचलन छोड्दा केहि फरक नपर्ने जनाउँदै महिला संगठनहरु सुस्ताएको तथा आम नेपालीहरुमा बजारबाद र उपभोक्ताबाद हाबी भएको बिचार व्यक्त गर्नुभयो ।

सो बहस कार्यक्रममा माडीका महिला अगुवाहरुसंगै महिला अधिकारकर्मी, जनप्रतिनिधी, महिला समुह, महिला स्वयम्सेविका र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम माडी नगर महिला समन्वय समितिकी अध्यक्ष कोपिला सिवाकोटीको अध्यक्षता तथा नगर उपप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

SwadeshPost