चैनपुरलाइ हराउँदै आयोजक स्टार स्पोर्टसले उचाल्याे स्टार कपकाे उपाधी

223
SwadeshPost

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक स्टार स्पोर्टस् क्लब बी ले जितेको छ ।

स्टार स्पोर्टस्ले चैनपुर फुटबल क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै उपाधी हात पारेको हो । आज साँझपख सकिएको फाइनल खेलमा निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा ४–२ गोलअन्तरसहित स्टारले उपाधी चुम्न सफल भएको हो । योसंगै आयोजक स्टार स्पोर्टस् क्लबले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ७५ हजार ५ सय ५५ नगद पुरस्कार जितेको छ भने दोश्रो हुन सफल चैनपुर फुटबल क्लब ए ले शिल्ड, मेडल र प्रमाणपत्रसहित ३७ हजार ५ सय ५५ र १० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यसैगरी प्रतियोगिताको तेश्रो स्थान जनआस्था युवा क्लब, माडी नगरपालिका–६, बसन्तपुरले जितेको छ । जनआस्थाले बर्डस् नेपाल बघौंडालाई २–० गोलअन्तरसहित पराजित गरी तेश्रो स्थान हासिल गरेको हो । खेलको म्यान अफ द म्याच जनआस्था युवा क्लबका रितेश श्रेष्ठ घोषित हुनुभयो । तेश्रो हुन सफल जनआस्थाले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु १० हजार नगद पुरस्कार जितेको छ ।

प्रतियोगिताभरको मुल्याङ्कनमा बेष्ट गोलरक्षक स्टार स्पोर्टस क्लबका किरण थापा, बेष्ट डिफेन्स चैनपुर फुटबल क्लबका रबिन राई, बेस्ट मिडफिल्ड जनआस्था युवा क्लबका भानु गुरुङ, बेस्ट फरवार्ड स्टार स्पोर्टस् क्लबका मनोज क्षेत्री, बेष्ट फिल्ड चैनपुर फुटबल क्लबका प्रेम डालामगर तथा सर्बोत्कृष्ट खेलाडी स्टार स्पोर्टस् क्लबका निरज गुरुङ घोषित हुनुभयो । प्रतियोगितामा सर्बाधिक ६ गोल गर्न सफल स्टार स्पोर्टस् क्लबका जमिर मियाँलाई हाइ स्कोररको उपाधीले सम्मान गरियो । त्यसैगरी जनकल्याण तमु समाज, कल्याणपुरले अनुशासित टिमको उपाधी प्राप्त गरेको छ भने बेष्ट टिम कोच स्टार स्पोर्टस्का अमित लामा तथा बेष्ट टिम म्यानेजर स्टार स्पोर्टस्कै देव बि.क.लाई प्रदान गरिएको छ ।

फाइनल खेल लगत्तै पुरस्कार तथा प्रमाणपत्र वितरण गरी प्रतियोगिताको समापन कार्यक्रम सञ्चालन गरिएको थियो । माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सञ्चालित सो कार्यक्रममा माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समितिका संयोजक हरि भुसाल, पर्यटन विकास समिति माडीका अध्यक्ष नारायण पौडेल, सुरक्षा निकाय प्रमुखहरु र अन्य अतिथिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य नबिन भण्डारीले गर्नुभएको थियो । त्यसैगरी दोश्रो पुरस्कार जे.बी. मोटर तथा ओम साई ट्याक्टर, तेश्रो पुरस्कार एस.के. मोटर्स र सान्त्वना पुरस्कार माडी अटो प्वाइन्टले सौजन्य गरेको थियो । प्रतियोगिताको आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको थियो ।

SwadeshPost