मानपाले जारी आ.व.मा पनि बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्चिने

194
SwadeshPost

माडी नगरपालिकाले जारी आर्थिक बर्ष २०७५/७६ मा पनि आन्तरिक बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्च गर्न लागेको छ । गत आर्थिक बर्षसंगै जारी आर्थिक बर्षमा पनि नगरपालिकाको प्राथमिकतामा नदी तथा खोला नियन्त्रण प्राथमिकतामा परेको हो । माडीमा बर्षायाममा उर्लिएर आउने खोलाहरुले बर्षेनी जनधनको क्षति गर्ने तथा कटान गरी खेतीयोग्य जमीन विनाश गर्ने भएकाले नगरपालिकाले खोला नियन्त्रणका उपायहरुमा लगानी बढाएको हो ।

माडी नगरपालिकाको जारी आर्थिक बर्ष २०७५/७६ मा आन्तरिक स्रोतबाट उठ्ने लक्ष्य रहेको २ करोड ५० लाख बराबरका योजना तटबन्धनका लागि केन्द्रित हुनेछन् । यस्तै कतिपय खोलामा पुल बनाउन कठिन भएकाले ‘कजवे’ निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । चन्द्रे, रिमाल, बाँदरमुढे लगायतका खोलामा कजवे बनाइने छ ।

जारी आर्थिक बर्षमा नगरपालिकाले ९० करोड ३८ लाख ३५ हजारको बजेट पारित गरेको छ । जसमा चालू तर्फ १४ करोड २७ लाख ३५ हजार र पूँजीगत तर्फ ७६ करोड ११ लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाकाले ३८ करोड बराबरको आन्तरिक आम्दानी हुने लक्ष्य लिएको छ । माडीलाई संघीय सरकारले ३० करोड ३५ लाख र प्रदेश सरकारले ३ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जारी आर्थिक बर्षमा विभिन्न भित्री सडक खण्डमा कालोपत्रे गर्न २४ करोड, शिक्षामा गुणस्तर र आकर्षण बढाउन २ करोड, कृषिमा ९ करोड, पर्यटन प्रवद्र्धन तथा विकासमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी बाँदरमुढे खोलामा भारतीय सहयोगमा १० करोड बराबरको परियोजना सञ्चालन गर्ने लक्ष्य रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

SwadeshPost