माडीमा खुल्ला रक्तदान कार्यत्रम सम्पन्न, ७३ जनाद्वारा रक्तदान

235
SwadeshPost

माडीको बसन्तपुरमा खुल्ला रक्तदान कार्यत्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा र स्वदेश एफ.एम.को आयोजना तथा बसन्तपुर युनाइटेड क्लबको सहयोगमा आइतबार खुल्ला रक्तदान सञ्चालन गरिएको हो । कार्यक्रममा ७३ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ ।

बिहान ९ बजेदेखि ३ बजेसम्म बसन्तपुरको दिवाकर चोकस्थित खुल्ला मञ्चमा संक्षिप्त उद्घाटन कार्यक्रम गरी रक्तदान सुरुवात गरिएको थियो । सो संक्षिप्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका सभापति भागिरथ बस्यालको अध्यक्षता तथा माडी नगरपालिकाका नगर उपप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका मन्त्री हरिप्रसाल पौडेलसंगै माडी नगरपालिका वडा नं ३, ४ र ५ का वडाध्यक्षहरु क्रमशः पुरन महतो, चन्द्रदीप महतो र रामबन्धु पोखरेल विशिष्ट अतिथि रहनुभएको थियो ।

जिल्लामा रगतको अभावले बिरामीहरु समस्यामा परिरहेको अवस्थामा रक्तसञ्चार केन्द्र भरतपुरको आग्रह तथा माडी नगरपालिकाको आर्थिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख महतोले रक्तदानजस्तो पुण्यकार्यमा सरिक हुन सबैलाई अनुरोध गर्दै रक्तदान कार्यक्रहरुलाई माडी नगरपालिकाले सक्दो सहयोग गर्ने नीति रहेको जनाउनुभएको थियो ।

यसैबिच, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री पौडेलले माडी नगरपालिकामा एक ब्लड प्वाइन्ट केन्द्र आवश्यक रहेको जनाउनुभएको छ । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा पत्रकार देव अञ्जान शाहसंग कुराकानी गर्दै मन्त्री पौडेलले माडी नगरपालिकाभित्र रगतको आकस्मिक माग पुरा गर्न कम्तीमा एकवटा ब्लड प्वाइन्टको जरुरी रहेको बिचार व्यक्त गर्नुभएको हो । माडीमा बघौंडा अस्पताल रहेको तर रगत खाँचो पर्ने अवस्था आउनासाथ हाल भरतपुर वा अन्यत्र रेफर गर्नु परिरहेको अवस्था रहेकोमा रक्तसञ्चार केन्द्रका रुपमा रहेको ब्लड प्वाइन्ट स्थापना हुन सके शल्यक्रिया लगायत सुरक्षित जन्म गराउन र अन्य उपचारमा सहजता थपिने उहाँको भनाई थियो । ब्लड प्वाइन्ट स्थापनाको सन्दर्भमा आवश्यक सहयोग गर्न नेपाल रेडक्रस सोसाइटी चितवन शाखा तयार रहेको जनाउँदै उहाँले यसको लागि बघौंडा अस्पताल र माडी नगरपालिकाले तत्कालै पहल लिनुपर्ने जनाउनुभयो ।

SwadeshPost