खाद्य अनुगमन समितिद्वारा बसन्तपुर गाउँदेखि कीर्तनपुरसम्म अनुगमन

137
SwadeshPost

माडी नगरपालिका अन्तरगतको खाद्य अनुगमन समितिले साेमबार माडी नगरपालिका वडा नं. ६, बसन्तपुरदेखि वडा नं. ७ कीर्तनपुरसम्म खाद्य अनुगमन गरेको छ । अनुगमनका क्रममा बसन्तपुर गाउँदेखि कीर्तनपुरसम्म रहेको किराना तथा होटल वा खाजाघरहरुमा रहेका खाद्यपदार्थको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा प्रायः पसल तथा होटल वा खाजा घरहरुमा म्याद सकिएका चिसो पेय पदार्थ, बिस्कुट र मसला भेटिएको छ । त्यसैगरी एकवटा किराना पसलबाट घरायसी मदिरा बनाउने कच्चा पदार्थका रुपमा रहेको मर्चा नियन्त्रणमा लिइएको छ । म्याद सकिएका सो पदार्थहरु मध्ये चिसो पेय पदार्थमा प्वाल पारिएको तथा अन्य सामानहरु इलाका प्रहरी कार्यालयमा जम्मा गरी प्रक्रिया पुरा गरी डिस्पोजल गरिने जनाइएको छ ।

बजार अनुगमनका क्रममा अधिकांस पसल व्यवसायहरु माडी नगरपालिकामा दर्ता नभएको भेटिएको खाद्य अनुगमन समितिले जनाएको छ । सम्बन्धित निकायबाट अनुमती नलिई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री बितरण गरिरहेका व्यवसायीलाई सचेत बनाइएको जनाइएको छ । त्यसैगरी हरेकजसो पसलहरुमा ४–५ महिना अघि नै म्याद सकिएको चिसो पेय पदार्थ भेटिएकाले उपभोक्ताहरुनै सचेत हुनुपर्ने जनाउँदै आफूले उपभोग गर्न लागेको पेय पदार्थको उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानीको बिकास गर्न समितिले अनुरोध गरेको छ ।

खाद्य अनुगमन समितिमा उद्योग बाणिज्य संघ माडी, नागरिक समाज माडी, पशुपंक्षी विकास कार्यालय, कृषि विकास कार्यालय, आयुर्वेद औषधालय तथा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरे र ईलाका प्रहरी कार्यालयका प्रतिनिधीसंगै सञ्चारकर्मी सदस्य रहेका छन् । समितिको संयोजक माडी नगरपालिकाका आयुर्वेद अधिकृत रविशंकर शाह रहनुभएको छ ।

SwadeshPost