नगरपालिकाको काममा चित्त नबुझेको भन्दै नगरप्रमुखलाई संयुक्त ज्ञापनपत्र

199
SwadeshPost

माडी नगरपालिकाको काममा चित्त नबुझेको भन्दै राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी र देशभक्त गणतान्त्रिक मोर्चा नेपालले नगरप्रमुखलाई संयुक्त ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नगर कार्यसमिति अध्यक्ष बीरेन्द्र भण्डारी, नयाँ शक्ति पार्टी माडी नगर समितिका संयोजक रमाकान्त सापकोटा र मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट देशभक्त गणतान्त्रिक मोर्चा माडी नगर कार्यसमितिका संयोजक चन्द्रप्रसाद सुवेदीद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्र हिजो दिउसो माडी नगरपालिकामा बुझाइएको हो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा सो तीनवटै पार्टीका नेता र प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

ज्ञापन पत्रमा संबिधानको मर्म र भावना बिपरित माडी नगरपालिकाले अनावश्यक रुपमा कर बृद्धि गरेको, विकास निर्माणको काममा आम भेला नगरी एकपक्षीय रुपमा उपभोक्ता समिति गठन गरेको र मुल्याङ्कन बजेट सार्वजनिक नगरेको आरोप लगाइएको छ । तीनवटै पार्टीका तर्फबाट १६ बुँदामा सबैखाले अनियमित कर अन्त्य गर्नुपर्ने, बढ्दो महंगी र बजारमा व्याप्त अखाद्य पदार्थ नियन्त्रण गर्नुपर्ने, अनियन्त्रित तरिकाले बढेको बसभाडा तत्कालै रोकी राष्ट्रिय मापदण्डको नयाँ भाडा कायम गर्नुपर्ने तथा माडी ठोरी हुलाकी सडक अन्तरगत बनकट्टा देखि बगहीँसम्मको अस्तव्यस्त सडक तत्काल मर्मत गर्नुपर्ने जनाइएको छ ।

त्यसैगरी, माडीलाई राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्र निर्धारण गरी उचित क्षतीपूर्ति दिने व्यवस्था लागु गर्नुपर्ने, सबैखाले कर तथा शिक्षा कर अन्त्य गर्नुपर्ने, युवाहरुमा व्याप्त दुव्र्यसनी अन्त्य गर्नुपर्ने, युवा स्वरोजगारमुखी कार्यक्रम लागु गर्नुपर्ने, विकासका कामहरु दीगो र प्रभावकारी हुनुपर्ने, कृषि उत्पादन बढाउने योजना लागु गर्नुपर्ने तथा माडी नगरपालिकाले खरिद गरेका सवारी साधनहरुको मुल्य सार्वजनिक गर्नुपर्ने माग गरेको छ । यसअघि नेपाली काँग्रेसले पनि नगर र वडास्तरमा यस्तै प्रकारका मागहरु राखी ज्ञापनपत्र बुझाउँदै आएको थियो ।

SwadeshPost