संबिधान दिवसमा मानपाद्वारा बिहान सरसफाई तथा साँझ दीप प्रज्वलन

231
SwadeshPost

संबिधान दिवसको अवसरमा बुधबार माडी नगरपालिकाले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय क्षेत्रवरपर सरसफाई कार्यक्रम गरेको छ ।

सरसफाई कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडा नं. ६ का वडाध्यक्ष भरत बहादुर गुरुङ र वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटासंगै शिक्षालयका प्राचार्य पुष्पराज पौडेल, स्थानीय विद्यालयहरुका प्रधानाध्यापक र शिक्षकहरु, सुरक्षा निकाय, मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो । त्यसैगरी सरसफाई कार्यक्रममा संस्थागत रुपमा माडीका सक्रिय युवाहरुको संस्था सिप नेपाल तथा जनकल्याण स्काउट ट्रुपका सदस्यहरु सहभागि रहेका थिए ।

सरसफाई कार्यक्रम अन्तरगत दिवाकर स्मृति शिक्षालय वरपरका क्षेत्रसंगै मुल सडकबाट त्यहाँसम्म पुग्ने बाटो सरसफाई गरिएको थियो । त्यसैगरी बाटोमा बढेका झाडी तथा बुट्यानहरु फाँडिएको थियो । सरसफाई कार्यक्रम सकिएसंगै हरिनगरमा एक संक्षिप्त अनौपचारिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतोले संबिधान दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सोही कार्यक्रममा पहिलोपटक खुला सम्बोधन गर्दै दिवाकर प्राविधिक शिक्षालयका प्राचार्य पुष्पराज पौडेलले शिक्षालयको स्थापना र संस्थापनामा माडीबासीको निरन्तर र महत्वपूर्ण सहयोग प्राप्त भइरहेको जनाउनुभयो । शिक्षालयलाई विकास गर्दै अन्य थप बिषयहरु सञ्चालन हुने वातावरण बनाउन पनि सबैको सहयोग जरुरी रहने उहाँको भनाई थियो ।

यसैबिच, संबिधान दिवशको अवसरमा माडी नगरपालिकाले दीप प्रज्वलन गरेको छ । हिजो साँझपख माडी नगरपालिका कार्यालयसंगै सम्पूर्ण वडा कार्यालयहरुमा दीप प्रज्वलन गरिएको हो । संबिधान जारी भएको २०७२ साल असोज ३ गतेदेखि नै हरेक बर्ष संबिधान दिवशको दिन माडी नगरपालिकाले नगरपालिका कार्यालयमा दीप प्रज्वलन गर्दै आइरहेको छ ।

SwadeshPost