गणेश आधारभूत विद्यालयलाई नमुना बनाउन शिक्षक तथा कर्मचारीहरु सक्रिय

197
SwadeshPost

पूर्वी माडीको गणेशकुञ्जस्थित गणेश आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउन शिक्षक तथा कर्मचारीहरु लागि परेका छन् ।

पूर्व प्राथमिक तहको नर्सरीदेखि कक्षा ५ सम्म सञ्चालनम रहेको सो विद्यालयमा करीब १०० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था रहेको र यसका कारण आर्थिक रुपमा बिपन्न भएपनि विद्यार्थीहरुको उपस्थिति उच्च र नियमित रहेको विद्यालयका प्रधानाध्यापक तोयानाथ अधिकारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । हालै विद्यालय भवन रंगरोगन गरिएको तथा कक्षाकोठामा पंखा र बुक कर्नर व्यवस्था गरिएको छ ।

विद्यालयलाई नमुना बनाउन माडी नगरपालिकाले समेत सहयोग गरिरहेको छ । हाल एकजना दरबन्दी र एकजना निजी श्रोतका शिक्षकको व्यवस्था मिलाई नगरपालिकाले सो विद्यालयको शैक्षिक गुणस्तर बढाउन सहयोग गरेको तथा दिवा खाजा र अन्य आवश्यकता पुरा गर्न पनि नगरपालिकाको सहयोग निरन्तर रहेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर तामाङले जनाउनुभयो ।

हाल अंग्रेजी माध्यममा नर्सरी र यु.के.जी. सञ्चालन सुरुवात भइसकेको सो विद्यालयमा बहुसंख्यक चेपाङ, बोटे, दलित तथा जनजाति विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयको नतिजा समेत अपेक्षाकृत सन्तोषजनक रहेको विद्यालयले जनाएको छ । आउँदो बर्ष कक्षा ३ सम्म अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गर्ने र विद्यालयलाई माडी नगरपालिकाको इन्टरनेट सञ्जालमा जोड्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक अधिकारीको भनाई छ । त्यसैगरी नपुग कक्षाकोठा तथा भौतिक स्रोतसाधन थप गर्न माडी नगरपालिका लगायतका निकायसंग अनुरोध गरिएको पनि उहाँले जनाउनुभयो ।

SwadeshPost