व्यवसायिक गाईपालन गर्ने शिवद्वारका किसान रेग्मीलाई मनग्य आम्दानी

427
SwadeshPost

परम्परागत कृषि तथा पशुपालनमा नयाँ पुस्ताको ध्यान हटिरहको अवस्थामा मध्यपुर्वी माडीको शिवद्वारमा एक किसान परिवारले गाइपालन गरी मनग्य आम्दानी गरिरहेका छन् ।

माडी नगरपालिका वडा नं. ८, शिवद्वारमा गोर्खाली रेवा गाई फार्म सञ्चालन गर्नुभएका किसान रुद्र प्रसाद रेग्मीले सपरिवार व्यवसायिक गाई पालन गरी उदाहरणीय रुपमा आम्दानी गरिरहनुभएको हो । दैनिक रुपमा ८० देखि १०० लिटर दुध उत्पादन गरिरहनुभएका पशुपालक कृषक रेग्मीले हाल १२ वटा माउ गाई तथा ३ वटा बाच्छी पालिरहनुभएको हो । पशुपालनसंगै उहाँले नियमित रुपमा मत्स्यपालन र कहिलेकाँही बंगुर पालन समेत गर्ने गर्नुभएको छ ।

पशुपालन गर्नुअघि घर बनाउने डकर्मीको काम गर्नुहुने उहाँले २०५९ सालमा दुग्ध उत्पादन गर्ने मनसायसहित गाईपालन सुरुवात गर्नुभएको थियो । तात्कालीन समयमा माडी क्षेत्रमा परम्परागत रुपमा घरायसी प्रयोजनका लागि भैंसी पालन गर्ने प्रचलन रहेको अवस्थामा रेग्मीले दुध बेच्ने तयारीसहित गाइपालन सुरु गर्नुभएको हो । सुरुवातमा आफूले बजारको अभाव र सहयोगी संघसंस्थाहरुको कमी जस्ता समस्या भोग्नुपरेको भएपनि हाल बजार बिस्तार भई दुध उत्पादन गर्ने किसानहरु व्यवसायिक बन्न सक्ने आधार बनिसकेको कृषक रुद्र प्रसाद रेग्मीले शिवद्वार पुगेको स्वदेश एफ.एम.को टोलीलाई जनाउनुभयो ।

कृषक रेग्मीलाई दुग्ध उत्पादनमा सघाउन माडी नगरपालिका, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम (ताल)ले विभिन्न समयमा आर्थिक सहयोग गरेका छन् । कृषक अनुदानस्वरुप हालै माडी नगरपालिका अन्तरगतको पशुपंक्षी शाखाले नगर १ लाख अनुदान सहयोग समेत गरेको उहाँले जनाउनुभयो । व्यवसाय प्रबद्र्धनका लागि उहाँका छोरा भुवन रेग्मीले माडीको खरकट्टा बजारमा हाल दुग्ध संकलन केन्द्र सञ्चालन गर्नुभएको छ । निकट भविष्यमै त्यसलाई दुग्ध चिस्यान केन्द्रका रुपमा विकास गर्ने उहाँहरुको तयारी रहेको जनाइएको छ ।

SwadeshPost