माडीको बघौंडास्थित कमल विपीन पार्कमा सामुहिक सरसफाई सुरु

212
SwadeshPost

माडीको बघौंडास्थित कमल विपीन पार्कमा सामुहिक सरसफाई कार्य सुरुवात गरिएको छ । बघौंडा गाउँको सङ्गवा महिला समूह र सङ्हाती महिला समूहले संयुक्त रुपमा पार्क सरसफाई सुरु गरेका हुन् । सोमबार सुरु भएको पार्क सरसफाई अभियान पार्कको सरसफाई पुरा नहुँदासम्म जारी रहने पार्क संरक्षणका अभियन्ता निरोज चौधरीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

थारु समुदायको महान पर्व जितियाको अवसरमा सो पार्क रहेको स्थानमा थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडी र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको संयुक्त आयोजनामा जितिया झम्टा विशेष साँस्कृतिक कार्यक्रम हुन लागेको छ । कार्यक्रमको पूर्वतयारीस्वरुप बघौंडा गाउँबासीहरुले पार्कको सरसफाई जारी राखेका हुन् ।

थारु आन्दोलनका क्रममा टाँडीको सौराहाचोकमा प्रहरीको गोली लागी शहीद घोषित हुनुभएका कमल चौधरी र बिपीन खड्काको स्मरणमा गत आर्थिक बर्ष २०७३/७४ मा सो पार्कको निर्माण गरिएको हो । माडी नगरपालिका कार्यालयको वातावरणमैत्री स्वायत्त शासन कार्यक्रम र तात्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का साँसद रुक्मिणी चौधरीको साँसद विकास कोष मार्फत पार्क निर्माणको लगानी जुटेको थियो । पार्कको नजिकै थारु कल्याणकारिणी सभाको कार्यालय, शिव मन्दिर तथा राष्ट्रिय आधारभूत विद्यालय बघौंडा रहेको छ भने पार्कको दक्षिणपट्टी करीक २ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरी रहेको छ । पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने स्थानीयबासीहरुको योजना रहेको छ ।

SwadeshPost