असोजभित्रै उपभोक्ता समितिहरु गठन गर्न माडी नगरपालिकाकाे अनुराेध

602
SwadeshPost

माडी नगरपालिकाले जारी असोज महिनाभित्रै उपभोक्ता समितिहरु गठन कार्य पुरा गर्न अनुरोध गरेको छ ।

विकास निर्माणका कामहरु समयमै पुरा गर्न असोज महिनाभित्रै सम्पूर्ण उपभोक्ता समितिहरु गठनको काम सम्पन्न गर्न नगरपालिकाले वडा कार्यालयहरु तथा नगरबासीहरुलाई अनुरोध गरेको हो । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालिन कार्यक्रम आजको सन्दर्भमा पत्रकार देब अञ्जान शाहसंग कुराकानी गर्दै माडी नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले उपभोक्ता समितिहरुले वडा तथा पालिका कार्यालयमा आउँदो मंसिर महिनाभित्र योजना सम्झौता गरिसक्नुपर्ने जनाउनु भएको हो ।

माडी नगरपालिकाले गत आर्थिक बर्ष बैशाख महिनाभित्र योजना सम्झौता गर्ने मितिरेखा राखेकोमा कतिपय योजनाहरु आर्थिक बर्ष पुरा भई साउन महिना लागिसक्दा पनि सम्पन्न भएका थिएनन् । त्यसैले जारी आर्थिक बर्षमा समयमै सम्पूर्ण योजना पुरा गर्न असोजभित्रै उपभोक्ता समिति गठन गर्न नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले सार्वजनिक अनुरोध गर्नुभएको हो । उपभोक्ता समितिहरुलाई मंसिर महिनाभित्र नगरपालिका कार्यालयले प्रभावकारी कार्यसम्पादनको तालिम प्रदान गर्ने उहाँको भनाई थियो ।

SwadeshPost