मत्स्य ब्लकका कृषकहरुले नगरपालिका घेराउ गर्दा अप्रीय अवस्था सिर्जित

133
SwadeshPost

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मत्स्य ब्लकका कृषकहरुले माडी नगरपालिका घेराउ गर्दा अप्रीय अवस्था सिर्जना भएको छ । मत्स्य ब्लकका संयोजक नेत्रनाथ आलेको नेतृत्वमा नगरपालिका पुगेका किसानहरुले नगरपालिकाका कृषि शाखा प्रमुख बेदप्रसाद रेग्मीलाई हातपात समेत गरेका थिए भने नगर प्रमुख ठाकुर प्रसाद ढकाल लगायतसंग दोहोरो विवाद भएको थियो ।

गत आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मत्स्यब्लक कार्यक्रम अन्तरगत रु ८० लाख बजेटबाट मत्स्यपालन विकासका लागि विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गरिएकोमा साझेदारी अन्तरगत पोखरी खन्ने कार्यक्रम समेत भएको थियो । तर नगरपालिका, मत्स्य ब्लक र कृषकहरुबिच त्रिपक्षीय सम्झौता भई पोखरी खनेका भएपनि सो बापत किसानहरुले पाउनुपर्ने रकम भने निकाशा भएको थिएन । पटक पटक रकम निकाशाका लागि किसानहरुले धाएपनि नगरपालिकाले रकम निकाशा दिएको थिएन । रकम निकाशाको कार्यमा अवरोध गरेको आरोप लगाउँदै आज आक्रोसित किसानहरुले नगरपालिका घेराउ गर्दा अप्रीय अवस्था सिर्जना भएको हो ।

नगरपालिकाका घेराउ गर्न पुगेका किसानहरुले नगरपालिकाका कर्मचारीहरु कमिसनखोरी र भ्रष्टाचारमा लीप्त भएको आरोप लगाएका थिए । सानाभन्दा साना काम गरिदिन पनि कमिसन र घुस खाने गरेको उनीहरुकाे आरोप थियाे । आरोपहरु खण्डन गर्दै नगर प्रमुख ठाकुर प्रसाद ढकालले संयमित हुन कृषकहरुलाई आग्रह गर्नुभएको थियो । यो क्रममा दुबै पक्षबिच लामो समय बहस र भनाभन समेत भएको थियो । दुबै पक्षबिच भएको बहस र भनाभनको भिडियो यतिखेर सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

यसैबिच, नगरपालिका घेराउ गरेका किसानहरु र माडी नगरपालिकाबिच मत्स्य ब्लकको रकम तत्काल निकाशा गर्न सहमती भएको छ । कार्यालय घेराउलगत्तै पर्यटन विकास समिति माडी नगरपालिकाका अध्यक्ष नारायण प्रसाद पौडेल लगायतको पहलमा दुई पक्षबिच वार्ता भई भोलिबाटै रकम निकाशा गर्ने सहमती भएको होे ।

SwadeshPost