सोमेश्वरगढी गुरूयोजनाको प्रस्तुतिकरण तथा सुझाब संकलन सम्पन्न

307
SwadeshPost

पर्यटन विकास समिति माडी नगरपालिको आयोजनामा बिहीबार सोमेश्वरगढी गुरूयोजनाको प्रथम प्रस्तुतिकरण तथा सुझाब संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्जिनियर प्राध्यापक राजन सुयाल र बिमला तुलाधरले सोमेश्वरको गुरुयोजनाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरुले प्रस्तुत गर्नुभएको चित्रात्मक प्रस्तुतीकरण अनुसार सोमेश्वर गढी क्षेत्रमा अग्नीकुण्ड व्यवस्थित गर्ने, ढुंगेधाराहरु निर्माण गर्ने, सुबिधासम्पन्न सडक निर्माण गरी पार्किङ स्थल बनाउने, गोलपार्क निर्माण गर्ने, पिकनिक स्पट र संग्रहालय निर्माण गर्ने, सोमेश्वर टावर निर्माण गर्ने, भ्यु टावर बनाउने, ढुंगे डुङ्गा रहेको स्था व्यवस्थित गर्ने लगायतका योजना रहेका छन् ।

ईन्जिनियरहरुको प्रस्तुतीकरण पश्चात कार्यक्रमका सहभागीहरुले सोमेश्वर गढीसम्म केबुलकार निर्माण गर्ने, शालिग्राम पार्क बनाउने लगायतका सुझाव पेश गरेका थिए । त्यसैगरी, गुरुयोजना राम्रो रहेपनि त्यसको लागत व्यवस्थापजका बिषयमा पनि ध्यान दिनुपर्ने सुझाव दिइएको थियो । कार्यक्रममा बोल्दै, पर्यटन विकास समिति, माडी नगरपालिकाका अध्यक्ष नारायण पौडलेले सोमेश्वरगढीको ऐतिहासिक तथा धार्मीक पक्षलाई अक्षुण्ण राख्न प्राबिधिक टोली सचेत रहेको बताउनुभयो । सोमेश्वरको गुरुयोजना निर्माणमा संकलित सुझावहरुलाई ग्रहण गर्दै परिमार्जित गरिने पनि उहाँको भनाई थियो ।

माडी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा पर्यटन विकास समिति माडीका अध्यक्ष नारायण पौडेल सभाध्यक्ष रहनुभएको थियाे भने माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तैगरि, विशिष्ट अतिथि माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतो, अतिथिहरुमा माडी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल, लेखा अधिकृत सुरेश अधिकारी, इन्जिनियर प्रध्यापक राजन सुयाल, बिमला तुलाधर, पर्यटन बिकास समिति माडी उपाध्यक्ष अम्बिका लामिछाने, विभिन्न वडाका वडाध्यक्षहरु, महिला प्रतिनिधि लगायत उपस्थिति रहनुभएको थियो ।

SwadeshPost