भत्किएको घर ब्यवस्थापनमा युवा सङ्घ र वाइ.सि.एल. माडीद्वारा श्रम शिविर सञ्चालन

542
SwadeshPost

माडी नगरपालिका वडा नं. ४ सितलपुर निवासी शेषकुमारी दाहालको भत्किएको घरको ब्यवस्थापनका लागि शनिबार युवा सङ्घ र वाइ.सि.एल.माडीले संयुक्त श्रम शिविर सञ्चालन गरेका छन् । शिविरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनका रुपमा रहका सो दुबै संगठनमा आबद्ध युवाहरु तथा स्थानीयबासीहरुको करीब ५० जनाको सहभागिता रहेको थियो । बिहान करीब ७ः३० बजे सुरुवात भएको सो श्रम शिविर करीब १०ः३० बजेसम्म सञ्चालन भएको थियो । श्रमशिविर कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, वडा नं. ५ का वडाध्यक्ष रामबन्धु पोखरेल, वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतो, युवा अगुवाहरु श्रीप्रसाद दवाडी, रामेश्वर चौधरी, बिपीन पाठक, हरिकृष्ण लामिछाने, अर्जुन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

शिविर सकिएलगत्तै आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले पीडित दाहाललाई नगरपालिकाको तर्फबाट ३० हजार दिने घोषणा गर्नुभयो । पीडित दाहाललाई बस्ने घरको ब्यबस्था गर्न सबैलाई सहयोग गर्न समेत उहाँले आह्वान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्थानीय युवा नेता बिपिन पाठकले सञ्चालन गर्नुभएको थियो ।

SwadeshPost