माडी साहित्य परिवारद्वारा माडीका नवसर्जकहरुलाई गजल लेखनको प्रारम्भीक प्रशिक्षण

371
SwadeshPost

माडी साहित्य परिवारले माडीका नवसर्जकहरुलाई गजल लेखनको प्रारम्भीक प्रशिक्षण दिएको छ । बहुउद्देश्यीय सहयोग केन्द्र र माडका मध्यवर्ती उपभोक्ता समितिहरुको आर्थिक सहयोगमा सञ्चालित सो कार्यक्रममा चितवनका चर्चित गजलकार केशवराज आमोदी, साहित्यकार प्रा.डा. धनेश्वर भट्टराई, कवि किसान प्रेमी लगायतले सहभागी युवा सर्जकहरुलाई साहित्यका विभिन्न पाटोसंगै गजल लेखनका बिषयमा प्रशिक्षण दिनुभएको हो । ‘स्वास्थ्य र संरक्षणका लागि कला र साहित्य सिर्जना, पूर्ण वातावरणमैत्री शहर बनाउने हाम्रो चाहना’ भन्ने नारासहित बघौडा मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा सञ्चालित सो कार्यक्रममा माडीका नवसर्जक गजलकार तथा माडी साहित्य परिवारका सदस्य एवं पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतोको अध्यक्षतामा सम्पन्न सो गजल लेखन प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि माडी नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । गलन प्रशिक्षणमा सहभागी भएसंगै यसअघि लेख्दै आएका गजलहरुको कमीकमजोरी थाहा लागेकोले आउँदा दिहरुमा अझै राम्ररी कलम चलाउन सिकेको कार्यक्रमका एक सहभागी भावना अधिकारीको भनाई थियो । केहि बर्षअगाडि गजलको राजधानीका नाउँले चिनिने चितवनमा गजल लेखनको अभ्यास कमी हुँदै गएको सन्दर्भमा यसप्रकारको गजल प्रशिक्षण कार्यक्रमहरुबाट नयाँखालको उत्साह मिलेको कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।

SwadeshPost