चाडपर्वकाे अवसरमा माडीमा संयुक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

208
SwadeshPost

विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा साेमबार माडीमा संयुक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समिति, सोमेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह, माडी क्याम्पस, नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौंडा र पिसल्याण्ड इङ्गलिस स्कूलको संयुक्त आयोजनामा बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा सम्पन्न सो कार्यक्रमका सहभागीहरुले परस्पर शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा शुभकामना आदानप्रदानका साथै माडीका समाजसेवी एवं शिक्षासेवी तथा संरक्षणकर्मी भुवानी प्रसाद पौडेललाई पाँचवटै संस्थाहरुका तर्फबाट सामुहिक सम्मान गरिएको थियो । साविक बघौंडा गाउँ विकास समितिका अध्यक्ष रमेत रहीसक्नुभएका पौडेल बघौंडा मध्यवर्ती उपभोक्ता समितिका संस्थापक सदस्य, रेडक्रसका आजीवन सदस्य, पिसल्याण्ड अंग्रेजी विद्यालयका संस्थापक तथा विभिन्न सामाजिक अभियानका सक्रिय अभियन्ता हुनुहुन्छ । हालै भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गरी स्वदेश फर्किनुभएका पौडेललाई सामुहिक सम्मान गरिएको हो ।

बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । माडी क्याम्पसका अतिरिक्त कार्यक्रम संयोजक युवराज लामिछानेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सम्मानित व्यक्तित्व भुवानी प्रसाद पौडेललाइ बघौंडा मध्यवर्ती उपभोक्ता समितिका तर्फबाट अध्यक्ष देवीलाल पौडेल, पिसल्याण्ड इङ्गलिस स्कूलका सेयर सदस्य ओमप्रकाश लामिछाने, माडी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख नेत्रप्रसाद गौतम, नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौंडाका अध्यक्ष भागिरथ बस्याल, माडी क्याम्पसका पूर्व क्याम्पस प्रमुख घनश्याम भण्डारी लगायतले सम्मान तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मानित गरिएसंगै पौडेलले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसैबिच, बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा भोलि आर्थिक बर्ष २०७४÷७५ को सार्वजनिक सुनुवाई तथा जारी आर्थिक बर्ष २०७५÷७६ को योजना सार्वजनिकीकरण गरेको छ । कार्यक्रममा गत आर्थिक बर्षमा १ करोड २१ लाख रुपैंयाका योजनाहरु सम्पन्न भएको तथा जारी आर्थिक बर्षमा २७ लाखका कार्यक्रम गरिने बघौंडा मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ ।

SwadeshPost