दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधी बरुवाको स्टार स्पोर्टस् क्लबलाइ

161
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधी माडी बरुवाको स्टार स्पोर्टस् क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा जनआस्था युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै स्टार स्पोर्टस्ले उपाधी उचालेको हो । जितसंगै स्टार स्पोर्टस्ले नगद ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त परेको छ भने प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य जनआस्था युवा क्लब, माडी–६, बसन्तपुरले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता अन्तरगत सर्बाधिक गोलकर्ताको उपाधी स्टार स्पोर्टस् क्लबका जमिर मियाँ, उत्कृष्ट गोलकर्ता स्टार स्पोर्टस्का कृष्ण के.सी., उत्कृष्ट डिफेन्स जनआस्था युवा क्लबका अमृत श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर स्टार स्पोर्टस्का सबिन बिँडारी र उत्कृष्ट फरवार्ड जनआस्था युवा क्लबका रितेश क्षेत्री घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने स्टार स्पोर्टस् क्लबका यदु सिलवाल घोषित हुनुभयो ।

विजेता क्लब र उत्कृष्ट खेलाडीहरुलाई माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले पुरस्कार, प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गर्नुभयो । माडी नगरपालिका स्तरमा सञ्चालित सो प्रतियोगिता गत असोज १९ गते उद्घाटन भई आजसम्म सञ्चालन भएको हो । प्रतियोगितामा माडीभरका २६ वटा टीमको सहभागिता रहेको थियो । साइड नेपालका लागि रामु क्षेत्रीले संयोजन गर्नुभएको सो प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको थियो ।

SwadeshPost