बिदाका कारण लाभग्राहीहरुले दशैं अगाडि भत्ता बुझ्न पाएनन्

127
SwadeshPost

माडी नगरपालिकाले वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता यसपटक लाभग्राहीले दशैंपछि मात्र पाउने भएका छन् । सामाजिक सुरक्षा भत्ता अन्तरगत राज्यले बृद्धबृद्धा, अपाङ्ग, एकल महिला लगायतलाई हरेक महिना सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने प्राबधान रहेको छ । तर त्यसको व्यवस्थापन गरिरहेका माडी नगरपालिका र कृषि विकास बैंकले समयमै नगरबासी लाभग्राहीहरुको बैंक खातामा रकम दाखिला नगरिदिएका कारण राज्यबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका बृद्धबृद्धा, अपाङ्ग, एकल महिलाहरुले दशैंमा अार्थिक समस्या परेको गुनासो गरेका छन् ।

माडी नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसारको सामाजिक सुरक्षा भत्ता वापतको रकम कृषि विकास बैंकले लाभग्राहीहरुको खातामा जम्मा गरिएको असोज २९ गतेमात्र माडी नगरपालिकालाई जानकारी गराएको छ । त्यसलगत्तै दशैं बिदाका कारण बैंक तथा सरकारी कार्यालयहरु बन्द रहेसंगै लाभग्राहीहरुले दशैं अगाडि भत्ता बुझ्न नपाएका हुन । तर दशैं बिदा सकिएलगत्तै भने लाभग्राहीहरुले पालो प्रणालीअन्तरगत भत्ता रकम निकाल्न सक्ने बैंकले जनाएको छ ।

कृषि विकास बैंकले दिएको जानकारी अनुसार कार्तिक ६ गते माडी नगरपालिका वडा नं. ६ का सेवाग्राहीहरुलाई भत्ता वितरण गरिनेछ । त्यसैगरी कार्तिका ७ गते वडा नं. ७, कार्तिक ८ र ९ गते वडा नं. ८, कार्तिक ११ र १२ गते वडा नं.९, कार्तिक १३ गते वडा नं. १, कार्तिक १४ गते वडा नं. २, कार्तिका १६ गते वडा नं. ३, कार्तिक १८ गते वडा नं. ४ र कार्तिक १९ गते वडा नं. ५ का बृद्धबृद्धा, अपाङ्ग, एकल महिला लगायतका लाभग्राहीले खाताबाट भत्ता रकम निकाल्न सक्ने जनाइएको छ ।

SwadeshPost