हात्तीको आक्रमणमा परी मृत्यु भएका महतोको शवको अझै पोष्टमार्टम हुन सकेन

175
SwadeshPost

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी नगरपालिका–३ रतनीका रबि महतोको शवको अझै पोष्टमार्टम भएको छैन । दशैंको टिकाको दिन एकाबिहानै हात्तीको आक्रमणमा परी महतोको ज्यान गएको थियो । पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको भएपनि सो दिन दशैंको टिकाको दिन सार्वजनिक बिदा परेकाले पोष्टमार्टम हुन सकेको थिएन ।

छोराको मृत्यु भएलगत्तै बैदेशिक रोजगारीमा रहनुभएका मृतक महतोको बुबा राजेश चौधरी नेपाल फर्किनुभएको छ । तर भारतमा रोजगारी गरिरहनुभएको मृतकका काका दिनेश चौधरी अझै नआइपुगेकाले आजपनि शवको पोष्टमार्टम हुन नसकेको हो । साेमबार साँझसम्म उहाँ माडीको रतनीस्थित घरमा आइपुग्ने र त्यसपछि मात्र पोष्टमार्टम गरिने मृतकका परिवारसदस्य जितेन्द्र मर्दनीयाले जानकारी दिनुभयो ।

जंगली हात्तीको आक्रमणबाट छोराको ज्यान गएपश्चात चौधरी परिवार बिक्षिप्त बनेको थियो । अन्दाजी १५ बर्ष उमेरका मृतक किशोर महतो बसन्तपुरको माडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थी रहेको र बसन्तपुर बजारमा कपाल काट्ने काम समेत गर्दै आएका थिए । खेतमा धान कुर्न जाँदा हात्ती धपाउने ट्याक्टरको टोलीमा रहेका उनलाई जंगली हात्तीले कुल्चिएर मारेको थियो ।

SwadeshPost