हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी–३ रतनीका रबि महतोको अन्तिमसंस्कार गरियाे

138
SwadeshPost

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी नगरपालिका–३ रतनीका रबि महतोको मंगलबार दाहसंस्कार गरिएको छ । मंगलबार बिहान भरतपुर अस्पतालमा पोष्टमार्टम गरिएपश्चात अन्तिमसंस्कार गरिएको परिवार श्रोतले जनाएको छ ।

यसअघि परिवारलाई क्रियाखर्च स्वरुप बघौंडा मध्यवर्ती उपभोक्ता समितिको प्रतिनिधीमण्डलले पच्चीस हजार रुपैंया प्रदान गरेको थियो । समितिले बन्यजन्तुको आक्रमणबाट मानवीय हताहती हुँदा क्रियाखर्च स्वरुप प्रतिव्यक्ति पच्चीस हजार प्रदान गर्दै आएको छ । छोराको मृत्यु भएलगत्तै बैदेशिक रोजगारीमा रहनुभएका मृतक महतोको बुबा राजेश चौधरी तथा काका दिनेश चौधरी नेपाल फर्किनुभएको छ ।

दशैंको टिकाको दिन एकाबिहानै हात्तीको आक्रमणमा परी करीब १५ बर्षको उमेरका महतोको ज्यान गएको थियो । खेतमा धान कुर्न जाँदा हात्ती धपाउने ट्याक्टरको टोलीमा रहेका उनलाई जंगली हात्तीले कुल्चिएर मारेको थियो । घटना भएकै दिन शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको भएपनि सो दिन दशैंको टिकाको दिन सार्वजनिक बिदा परेकाले पोष्टमार्टम हुन सकेको थिएन ।

SwadeshPost