दशैंका कारण चितवनमा पेट्रोलको अभाव भएपछि माडीमा समेत पेट्रोल सकिएको जनाइयाे

138
SwadeshPost

दशैंका कारण चितवनमा पेट्रोलको अभाव भएपछि बुधबार बिहान सबेरैदेखि चितवनका पेट्रोलपम्पहरुमा उपभोक्ताको लाइन लागेको छ । दशैंमा आयल निगम र ट्याङ्कर चालकहरुको बिदा परेकोले उपभोक्ताको माग अनुसार पेट्रोल आयात नभएकोले अभाव देखिएको चितवन पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष ईश्वरी भट्टराईले बताउनुभयो ।

चितवनमा दैनिक दुई लाख लिटर पेट्रोलको माग रहेकोमा हिजो जम्मा केवल ५२ हजार लिटर पेट्रोल चितवन भित्रिएकोले यसको अभाव देखिएको उहाँले जनाउनुभयो । अध्यक्ष भट्टराईका अनुसार ट्याङ्करहरुले पेट्रोल लोड गरेर बुधबार साँझसम्ममा आइपुगेपछि बिहीबारबाट भने केही राहत हुनेछ । चाडपर्वमा सबैले ठूला बस भन्दा पनि आफ्नै निजी सवारीसाधन धेरै चढ्ने भएकोले पनि यस वर्ष पेट्रोलको अभाव देखिएको हो ।

त्यस्तैगरी, माडीको एकमात्र पेट्रोल पम्प माडी बसन्तपुरस्थित ओम साई पेट्रोल पम्पमा समेत पेट्रोल सकिएको जनाइएको छ । चितवनमा पेट्रोलको अभाव देखिएसंगै त्यसको प्रभाव माडीमा समेत परेको हो । माडीमा पेट्रोल सकिएपनि डिजेलको अभाव भने देखिएको छैन । यसअघि पनि सवारी चालकहरुको हडतालका कारण माडी उपत्यकामा पेट्रोल सकिन लागेको चर्चा चलेपछि माडीको बसन्तपुरस्थित ओम साई पेट्रोल पम्पमा लामो लाइन लागेको थियो । मोटरसाइकल चालक र पेट्रोलका उपभोक्ताहरुले लाइन बसेरै भएपनि आफ्ना मोटरसाइकल तथा ग्यालेनहरुमा पेट्रोल भरेका थिए ।

SwadeshPost