चितवन राष्ट्रिय निकुञ्जद्वारा वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन टानकाे माग

142
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जले गत असोज २९ गतेबाट पर्यटक प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि गरेको छ । निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालका अनुसार यो बृद्धिसंगै निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र अन्य देशका पर्यटकले दुई हजार रुपैयाँ तिनुपर्ने भएको छ । यसअघि नेपालीले ११३, सार्क देशका पर्यटकले ७५० र अन्य देशका पर्यटकले एक हजार पाँच सय रुपैयाँ बुझाउँदै आएका थिए ।

प्रवक्ता अर्यालले शुल्क बढाएको ६ वर्ष भएकोले बढ्दो मुल्य बृद्धिसँगै सापेक्षरुपमा शुल्क वृद्धि गरिएको बताउनुभयो । यसअघि २०६९ सालमा मात्र पर्यटक शुल्क वृद्धि भएको थियो । गतबर्षसम्म निकुञ्जको सुबिधाप्राप्त बनकट्टा देखि कसरा तथा बगहीँदेखि अमुवा पोष्ट पुग्ने सवारी साधनहरुले प्रवेश शुल्क तिर्दैै आएका थिएकोमा हाल मोटरसाइकल लगायतका साधनले प्रवेश शुल्क तिर्नु परेको छैन ।

यसैबिच, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पदयात्रीहरुलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन माग गरेको छ । टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी सरकारले पूर्व जानकारीविना चितवन राष्ट्रिय निकुञ्जसंगै, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशङ्कर साथै शिवपुरी क्षेत्रमा एक्कासि वृद्धि गरेको प्रवेश शुल्कले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने जनाउँदै अविलम्ब फिर्ता लिन आग्रह गर्नुभएको हो ।

SwadeshPost