माडी नगरपालिका भित्रका अधिकांश टोल सुधार समितिहरु निस्कृय

260
SwadeshPost

माडी नगरपालिकाभित्र रहेका अधिकांश टोल सुधार समितिहरु निस्कृय अवस्थामा रहेका छन् । नगरपालिका अन्तरगतका ९ वटै वडा कार्यालयहरुले गतबर्ष सामुदायिक विकास, सरसफाई, विपद जोखिम न्यूनिकरण र अन्य सामाजिक कामहरुको सहजिकरण एवं जनस्तरको समन्वयका लागि टोल सुधार समितिहरु गठन गरेका थिए । टोल सुधार समिति गठन भएपनि सो समितिहरुलाई कुनै प्रत्यक्ष आर्थिक जिम्मेवारी भने दिईएको छैन ।

माडी-१ को बरुवा बजार टोल सुधार समिति, माडी-५ को नयाँपिपरिया टोल सुधार समिति, माडी-८ को बैकुण्ठ टोल सुधार समिति, माडी-२ को लौंगाईं टोल सुधार समिति, माडी-९ को गोबिन्दबस्ती टोल सुधार समिति लगायतका केहि समितिहरु भने टोल स्तरमा विभिन्न सामाजिक गतिबिधीहरु सहित सक्रिय रहेका छन् । तर अधिकांश टोल सुधार समितिको भूमिका शुन्यप्राय रहेको छ ।

यसैबिच, माडीमा गठित अधिकांश टोल सुधार समितिहरु निस्क्रिय रहेको भन्दै माडी नगरपालिकाले सो समितिहरुलाई पुनः चलायमान बनाउन समितिहरु अद्यावधिक गर्न लागेको छ । मंगलबार नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले सम्पूर्ण वडा कार्यालयहरुलाई टोल सुधार समितिहरुको विवरण उपलब्ध गराउन परिपत्र गर्नुभएको छ । यो संगै वडास्तरीय बिपद् व्यवस्थापन समितिहरुको समेत विवरण अद्यावधिक गर्न पनि नगरपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गरेको नगरपालिकाको सुचना प्रविधि शाखाले जनाएको छ ।

SwadeshPost