माडीका एक बिपन्न परिवारका युवाले एम.बि.बि.एस. अध्ययनका लागि नाम निकाल्न सफल

394
SwadeshPost

माडीको एक बिपन्न परिवारका दलित युवाले चिकित्सा बिज्ञान अन्तरगत एम.बि.बि.एस. अध्ययनका लागि मेरिट लिस्टमा नाम निकाल्न सफल भएका छन् । माडी नगरपालिका वडा नं. ६, कल्याणपुरका बासुदेव बि.क.ले त्रिभुवन विश्वविद्यालय चिकित्सा बिज्ञान अध्ययन संस्थान महाराजगंज तथा बि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरी दुबै ठाउँहरुमा एम.बि.बि.एस. अध्ययनका लागि नाम निकाल्न सफल हुनुभएको हो ।

बुवा तीर्थबहादुर सुनार र आमा कमला कुमारी सुनारको कोखबाट बिपन्न कृषक परिवारमा जन्मनुभएका उहाँलाई माडी लक्ष्मीनिवासको हेल्पिङ सोसाइटी नेपालले कक्षा ५ देखि १२ सम्म पूर्णत निःशुल्क रुपमा आवासीय सुबिधासहित पठनपाठन गराएको हो । कक्षा ५ सम्म तात्कालीन नवदुर्गा राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीनिवासमा अध्ययन गर्नुभएका उहाँले कक्षा ६ देखि प्रवेशिकासम्म पूर्वी चितवनको टाँडीस्थित एकता शिशु निकेतनमा र दश जोड दुई तह भरतपुरको गुरुकुल उच्च मा.वि.मा अध्ययन गर्नुभएको थियो ।

उहाँलाई पढाउन सहयोग गरेको सहयोगी समाज नेपाल पनि भनिने हेल्पिङ सोसाइटी नेपालले अब एम.बि.बि.एस. पढ्न पनि यथासम्भव सहयोग गर्ने जनाएको छ । तर सो संस्था एक्लैले एम.बि.बि.एस. पढाउने खर्च व्यहोर्न सक्ने अवस्था नरहेको भन्दै सहयोगी हातहरु गुहारेको छ ।

SwadeshPost