माडी वडा नं. ६ कार्यालयले थारु बस्ती रहेको बसन्तपुर गाउँमा पर्याप्त बजेट नछुट्याएको सार्वजनिक गुनासो

399
SwadeshPost

माडी नगरपालिका वडा नं. ६ कार्यालयले सो वडाको थारु बस्तीका रुपमा रहेको बसन्तपुर गाउँमा पर्याप्त बजेट नछुट्याएको सार्वजनिक रुपमा गुनासो गरिएको छ । १५० घरधुरी रहेको तथा करीब ७०० जनसंख्या रहेको थारु समुदायको बाहुल्यता भएको सो गाउँमा वडा कार्यालयले खासै ध्यान नदिएको भन्दै जिल्ला समन्वय समितिका सदस्य समेत रहनुभएका चुडामणी महतोले सामाजिक सञ्जालमार्फत गुनासो राख्नुभएको थियो । गाउँमा रहेको खेतीयोग्य जमीनमा कुलो सिंचाइ नपुगेको, स्थानीय विद्यालय र उद्योगहरुमा वडाको ध्यान नपुगेको, गाउँको बाटो मर्मत तथा ग्राभेल गर्नुपर्ने अवस्था रहेको, ढलनिकासको व्यवस्था नरहेको र रौतनी खोलाको पुल भत्किएर आवत जावतमै समस्या परिरहेको भएपनि वडा कार्यालयबाट सो क्षेत्रका लागि बजेट विनियोजनमा प्राथमिकता नभएको गुनासो गरिएको हो ।

महतोको भनाईमाथि मिश्रितखालका टिकाटिप्पणी आइरहेकोमा केहि टिप्पणीकर्ताहरुले वडा कार्यालयको आलोचना तथा केहिले बचाउ गरेका छन् । कतिपयले भने जनप्रतिनिधीहरु आपसमा मिलेर छलफल गरी समस्याको समाधान खोज्नुपर्ने सुझाव पोष्ट गरेका छन् । ६ नं. वडा कार्यालयले भने वडाको बजेट विनियोजनमा रकम ब्रेकडाउन गर्ने जनप्रनिनिधीबाटै अनावश्यक टिकाटिप्पणी गरिनु दुःखद भएको जनाएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष भरत बहादुर गुरुङले सबै पक्षहरुसंग अाइतबार छलफल गरी समस्याको समाधान खोजिने जनाउनुभयो ।

SwadeshPost