माडी न.पा र माडीका साना किसान कृषि सहकारी संस्थाहरुबिच सस्तो ब्याजदरको ऋण सम्झौता पत्रमा हस्ताक्षर

554
SwadeshPost

जिल्ला साना किसान कृषि सहकारी संघ भरतपुर चितवनको रोहबरमा माडी नगरपालिका र माडीका साना किसान कृषि सहकारी संस्थाहरुबिच सस्तो ब्याजदरको ऋण सम्झौता पत्रमा हस्ताक्षर तथा कार्यविधी हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

माडी नगरपालिकाद्वारा कृषिजन्य व्यवसायिक योजनालाई उद्यमशिलतामा बिकासका लागि सुलभ ऋण उपलब्ध गराउन कार्यपालिका बैठकबाट गरिएको निर्णयको कार्यान्वयनका रुपमा सोमबार सो सम्झौता गरिएको माडी नगर सहकारी विभाग प्रमुख ईश्वरी प्रसाद ढकालले जानकारी दिनुभयो । माडी नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रममा लगानीलाई व्यवस्थित र मर्यादित गर्नका लागि माडी नगरपालिका सहकारी समितिले तयार गरेको कार्यबिधी समेत नगर कार्यपालिकामा पेश गर्ने गरी अनुमोदन गरिएको छ ।

कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, जिल्ला साना किसान कृषि सहकारी संघ चितवनका अध्यक्ष हरी प्रसाद पौडेल एवं सञ्चालक प्रेम प्रसाल आचार्य, माडी नगरपालिका वडा नं. का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता शिवहरी सुवेदी, माडीका साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

SwadeshPost