सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधीन ४ कोठे दुई तले भवनको दोश्रो तल्ला सोमबार ढलान

304
SwadeshPost

सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधीन ४ कोठे दुई तले भवनको दोश्रो तल्ला सोमबार ढलान गरिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई भरतपुरको आर्थिक बर्ष २०७४÷७५ को भौतिक सुधार कार्यक्रम अन्तरगत माडीको बरुवास्थित सो विद्यालयमा निर्माणाधीन दुई तले भवनको सोमबार ढलान गरिएको हो । ३६ लाख रुपैंयाको लागतमा सो भवनको गत बैशाखबाट निर्माणकार्य जारी रहेको विद्यालयका प्रधानाध्यापक माधव सुवेदीले जानकारी दिनुभयो । सुरुवाती  अनुमान ३६ लाख रुपैंयाको रहेपनि निर्माणकार्य जारी रहँदा सो को लागत बढेर करीब ६२ लाख पुगेको उहाँले जनाउनुभयो ।

विद्यालयको पुरानो भवन जीर्ण रहेकोमा त्यसलाई क्रमशः भत्काउँदै नयाँ भवनमा कक्षा सञ्चालन हुँदै आएको छ । अझै ४ वटा कक्षाहरु जीर्ण भवनमा नै सञ्चालन भइरहेकोमा नयाँ भवनको निर्माणकार्य पुरा भएसंगै विद्यार्थीहरुलाई सो भवनमा सारिने विद्यालयले जनाएको छ । हाल पुरानो र जीर्ण भइसकेको भवनमा विद्यार्थी तथा शिक्षकहरुको जीवन नै जोखिम हुनेगरी अध्ययन अध्यापन भइरहेको देखिन्छ ।

यसैबिच, शिक्षा बिकास तथा समन्वय इकाई भरतपुरको ३६ लाख रकमबाट निर्माण सुरु भएपनि लागत बढेसंगै विद्यालयलाई भने समस्या परेको छ । थप रकम अन्य दाता वा संघसंस्थाहरुसंग माग्नुपर्ने अवस्था सिर्जना भएको विद्यालयका प्रधानाध्यापक सुवेदीको भनाई छ । विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ कक्षासम्म सेक्सनसहित ३३ वटा कक्षा सञ्चालनमा रहेका छन् । सो विद्यालयमा हाल ४० जना शिक्षक कर्मचारी तथा ११४५ जना विद्यार्थीहरु रहेका छन् ।

SwadeshPost