माडीको खरकट्टास्थित माडी ब्रेन पावर नामको पुस्तकालयमा पाठकहरुको चाप बढ्याे

177
SwadeshPost

मध्यपूर्वी माडीको खरकट्टामा माडी ब्रेन पावर नामको पुस्तकालयमा पाठकहरुको चाप बढेको छ । भिलेज डेभलपमेन्ट इन नेपाल नामको डेनिस संस्थाले जनजीवन माध्यमिक विद्यालयमा स्थापना गरेको सो पुस्तकालमा बाहिरी पाठकहरु समेत सदस्य बन्न पाउने भएसंगै पाठकहरुको चाप बढेको पुस्तकालयकी लाइब्रेरियन चन्दा परियारले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । जनजीवन भूतपूर्व विद्यार्थी संगठनले निर्माण गरेको भवनमा पुस्तकालय सञ्चालन गरिएको हो ।

गतबर्ष फागुन १७ गते स्थापना भएको सो पुस्तकालयमा हाल करीब १६०० थान पुस्तक र जर्नलहरु संग्रहीत छन् । त्यसैगरी बालबालिकाहरुका लागि खेल सामग्री तथा पाठकहरुका लागि दैनिक पत्रपत्रिका र इन्टरनेट सेवा समेत उपलब्ध गराइएको लाइब्रेरियन परियारले जनाउनुभयो । आउँदो शनिवार थप ५०० थान पुस्तकहरु थप गरिन लागेको उहाँले जानकारी दिनुभयो । मात्र रु १०० मा पुस्तकालयको सदस्य बनी १० दिनसम्मका लागि किताब लैजान मिल्ने सो पुस्तकालय आइतबार र सार्वजनिक बिदामा बाहेक शनिबाससहित हरेक दिन खुल्ला रहने गरेको छ ।

माडी ब्रेन पावर पुस्तकालयमा डेनमार्कबाट आएका स्वयम् सेवी डेनिसहरुले समेत सेवा दिनेगरेका छन् । डेनिस स्वयमसेवीहरुको संस्था भिलेज डेभलपमेन्ट इन नेपालका शिक्षा विभाग प्रमुख ट्रिले गार्डस्डलको नेतृत्वमा डेनिस स्वयमसेवीहरु नियमित रुपमा पुस्तकालयमा आउने गरेका हुन् । आउँदो फेब्रुअरीमा माडी ब्रेनपावर क्लब गठन गरी थप सेवा बिस्तार गरिने पुस्तकालयले जनाएको छ ।

SwadeshPost