अज्ञात जनावरको आक्रमणबाट माडी –६ सन्तानेश्वरमा एउटा गाई मर्याे

347
SwadeshPost

अज्ञात जनावरको आक्रमणबाट माडी नगरपालिका वडा नं. ६ सन्तानेश्वरमा दिनानाथ पौडेलले पाल्नुभएको एउटा गाई मरेको छ । खेतमा चरिरहेको गाई दिउसो करिब १ बजे लिन जाँदा कुनै अज्ञात जंगली जनावरको आक्रमणमा परी मरेको अवस्थामा भेटिएको गाईपालक पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । पौडेल परिवार र सन्तानेश्वर वासीहरुले गाईलाई आक्रमण गरी मार्ने जनावर बाघ रहेको हुनसक्ने अनुमान गरेपनि त्यसको निश्चय भने भएको छैन ।

गाईको दाहिनेपट्टी पेट पछाडीको भाग नै नरहेको गाइपालक पौडेलले जनाउनुभयो । हरेक दिन बेलुकासम्म खेतमा चर्ने र साँझ गोठमा फर्किने गाई मंगलबार भने गोठमा नआएपछि खोज्दै जाँदा खेतमा भेटिएको हो । पौडेलका अनुसार ब्याउने रहेको सो गाई मरेसंगै उहाँलाई करिब ७० हजार नोक्सान भएको छ । गाईलाई आक्रमण गरेको जनावरले त्यसको बाच्छालाई समेत आक्रमणको प्रयास गरेकोमा बाच्छाको पछाडीपट्टी सामान्य चोट लागेको छ ।

SwadeshPost